काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा कात्तिक १९ गते ताप्लेजुङमा आयोजित आमसभामा एमाले अध्यक्ष केपी ओलीले भनेका थिए, 'जिताएर पठाउनुस् मन्त्रीको बिल्ला भिराएर पठाउँछु। अब बकाइदा मन्त्री भएर मन्त्रालय चलाएर ताप्लेजुङ बनाउने जिम्मा योगेशको हो।' तर तेस्रो पटकको मन्त्रिपरिषद् विस्तारमा पनि एमाले सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सरकारमा अटेनन्।
उनलाई ओलीले 'धोका' दिएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेका छन्। भट्टराईले भने सामाजिक सञ्जालमार्फत नयाँ सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुलाई शुभकामना दिएर औपचारिकता निर्वाह गरेका छन्। नेपाल लाइभसँग कुरा गर्दै भट्टराईले अधिकांश आआफ्नो क्षेत्रमा राम्रो काम गरेर आएका योग्य व्यक्ति वर्तमान मन्त्री मण्डलमा सहभागी भएको बताए।
वर्तमान सरकार र प्रधानमन्त्री केपी ओलीप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै उनले जनताको अपेक्षा पूरा गर्न प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिमण्डल क्रियाशील रहने अपेक्षा पनि गरे। यसबारे जिज्ञासा राख्दा भट्टराईले मन्त्री छनोट गर्ने अधिकार संविधान अनुसार प्रधानमन्त्रीको रहेको उल्लेख गर्दै त्यस विषयमा आफ्नो कुनै टिप्पणी नभएको बताए। उनले भने, ‘प्रधानमन्त्रीले आफूलाई काम गर्न सजिलो व्यक्ति मन्त्री छनोट गर्ने संवैधानिक अधिकार छ। त्यो अधिकार उहाँले प्रयोग गर्नु भएको छ। मलाई केही भन्नुछैन।’ पार्टी अध्यक्ष ओलीले त मन्त्री बनाउने वाचा गर्नुभएको थियो नि भन्ने प्रश्नमा उनले संक्षिप्त जवाफ दिए, ‘त्यो उहाँले नै सम्झिने कुरा हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।