इलाम- इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भएको छ।
गत कात्तिक लागेसँगै बाँझी बसेर पलाउन छोडेको चिया पुनः पलाउन थालेसँगै चियापत्ती टिपाइ सुरु भएको हो। योसँगै जिल्लाका चिया कारखानाले पनि प्रशोधनको तयारी थालेका छन्। यसरी केही समयसम्म फुर्सद रहेका चिया तथा कारखाना मजदुरको कार्य व्यस्तता अहिले ह्वातै बढेको छ।
पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच बढाउनसमेत चियापत्तीको टिपाइ छिट्टै थालिएको हो। यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ। अघिल्लो वर्ष चैत अन्तिम सप्ताहबाट मात्रै चियापत्तीको टिपाइ सुरु भएको थियो तर यो वर्ष चैतको सुरुमै पहिलो टिपाइ भएको किसानको भनाइ छ।
जिल्लाका लेकाली क्षेत्रमा अझै पूर्णरुपमा चियापत्ती पलाउन सकिएको छैन। मध्य तथा गर्मीे बढेका क्षेत्रमा चियापत्ती टिप्न सुरु गरिएको हो।
उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने भएकाले किसानले छिट्टै नै चियापत्तीको टिपाइ सुरु गरेका हुन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।