काठमाडौँ- प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। पीडित सहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको विश्वास छ। यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख नदिने धार्मिक विश्वास अझै पनि छ।
साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई एक मुरी चामलको भात र राँगाको मासु दिइन्छ। आजको दिन जङ्गबहादुरको घोडा किन्न जाने ठट्टा पनि गरिन्छ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका खेल प्रदर्शन गरिन्छ। आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।