वासिङटन – बेलायतमा भएको बहुचर्चित विष आक्रमणको घटनामा रसिया नै दोषी रहेको अमेरिकाले विश्वास व्यक्त गरेको छ । रसियाका पुर्व गुप्तचर र उनकी छोरीलाई बेलायतमा विष खुवाएर हत्या गर्न लागेको भन्ने बेलायतको आरोपलाई अमेरिकाले समर्थन गरेको हो।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ, “विष आक्रमणका बारेमा बेलायतले जे ठहर गरेकोे छ, अमेरिकालाई पनि त्यही लागेको छ ।” “पुर्व गुप्तचर र उनकी छोरीलाई विष खुवाउन लागिएको घटनामा रसिया दोषी छ भन्ने अमेरिकाको विश्वास हो,” वक्तव्यमा उल्लेख गरिएको छ।
अमेरिकाले बेलायतको समर्थन गर्ने बताउदै रसियासँगको कुटनीतिक सम्बन्धमा पनि अमेरिका बेलायतसँगै रहेको वक्तव्यमा जनाइएको छ। यसअघि बुधबार बेलायती प्रधानमन्त्री टरिजा मेले यही विषयलाई लिएर २३ जना रसियाली कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेका छन्।
छैसठ्ठी बर्षीय पूर्व रसियाली गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो। प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा देश निकालाको घोषणा गरिएकालाई एक हप्ताभित्रमा देश छोड्न समय दिइएको छ ।
यसै महिनाको शुरुमा भएको घटनाका पीडित ती बाबु छोरीको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । तर रसियाली सरकारले भने ती बाबु छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आइरहेको छ । प्रधानमन्त्री मेले रसियासँगको कूटनीतिक सम्बन्धलाई टुटाउन भने नचाहेको स्पष्ट पार्नुभएको छ । तर दुईपक्षीय उच्चस्तरीय कूटनीतिक सम्पर्क भने तत्कालका लागि स्थगित गरिएको बेलायतले जनाएको छ । रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।