रामपुर(पाल्पा)–पाल्पाको बगनासकाली गाउँपालिकामा खरको छानोरहित घर निर्माण कार्य शुरु भएको छ। गाउँपालिकाले खरको छानो भएका घरधुरीलाई अनुदानमा जस्तापाता वितरण गर्ने कार्य शुरु गरेको हो।
सोहि प्रायोजनका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ लागि १५ लाख रुपैयाँ रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए। ‘अबको दुई वर्षभित्रमा गाउँपालिकालाई पूर्ण खरको छानोरहित गाउँपालिका घोषणा गर्ने लक्ष छ। यस वर्ष ५५ घरधुरीलाई छनोट गरेर अनुदानस्वरुप जस्तापाता उपलब्ध गराएका छौँ’, उनले भने।
गाउँपालिकाको वडा नं १ मा सात घर, २ मा सात घर, ३ मा दुई घर, ४ मा १४ घर, ५ मा आठ घर, ७ मा सात घर, ८ मा सात घर र ९ मा तीन घरधुरी गरी जम्मा ५५ घरधुरीलाई प्रतिघरधुरी तीन बण्डल जस्तापाता वितरण गरिएको अध्यक्ष बस्यालले जानकारी दिए।
गाउँपालिकाभित्र खरका छाना भएका २ सय ५५ घरधुरीलाई जस्तापाता अनुदानका लागि छनोट गरिएको छ। आगामी आर्थिक वर्षमा गाउँपालिकाले ५० लाख रुपैयाँ रकम विनियोजन गरेर गाउँपालिकालाई पूर्ण खरको छानोरहित गराउन प्राथमिकताका साथ लागेको जनप्रतिनिधिले बताएका छन्।
यस वर्ष छनोटमा परेका घरधुरीले अनुदानबापत जस्तापाता बुझेको एक महिनाभित्रमा घरमा जस्तापाताले छाउनुपर्ने नियम रहेको गाउँपालिकाले जनाएको छ। साथै, जस्तापाता ढुवानीसमेत गाउँपालिकाले आफैँ गरिदिएपछि स्थानीयवासीलाई सहज भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।