ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी दुई वर्षदेखि बाँसको टहरामा असुरक्षित रुपमा बसेर पढ्न बाध्य छन्।
२०७२ मा गएको भूकम्पले विद्यालयको एउटा भवनमा क्षति पुगेपछि कक्षा ५ सम्मका बालबालिकालाई बाँसको टहरामा राखेर पठनपाठन गराइँदै आएको छ। कक्षा ६ देखि १० सम्मका विद्यार्थी भने भूकम्पले चर्किएको जीर्ण भवनमा जोखिम मोलेर पढ्दै आएका छन्।
हावाहुरी चल्दा र पानी पर्दा बाँसले बनाएको टहरामा बालबालिकालाई पठनपाठन गर्न असुरक्षित हुने गरेको छ।
भूकम्पपछि लगत्तै जेठ अन्तिममा गएको पहिरोले समेत विद्यालयको भवनमा क्षति पुगेको थियो। भवन भत्किएसँगै तत्काल जिल्ला शिक्षा कार्यालय, शान्ति तथा पुनःनिर्माण मन्त्रालय र अन्य संघसस्थाहरुमा भवन निर्माणका लागि पहल गरिएको भए पनि कसैले वास्ता नगरेको विद्यालयका निमित्त प्रधानाध्यापक भीमबहादुर विश्वकर्माले बताए।
जिल्ला शिक्षा कार्यालयको भौतिक सुविधा विस्तार कार्यक्रम २०७२÷०७३ अन्तर्गतको भवन समेत निर्माणाधीन अवस्थामा छ। गएको असार मसान्तमा नै सकिने गरी १ वर्षअघि निर्माण सम्झौता भएपनि हालसम्म निर्माण कार्य नसकिँदा समस्या भएको छ।
चालू आर्थिक वर्षमा गाउँपालिकाले ५ लाख रुपैयाँ मात्र मर्मतका लागि भनेर छुट्याएको छ। सो बजेटले न्युन मात्रै काम नहुने देखिएको स्थानीयले बताए।
समयमा भवन निर्माणका लागि कसैले चासो नदेखाएकोमा अभिभावकले गुनासो गरेका छन्। यता जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले भने सो विद्यालयको भवन निर्माणका लागि पहल भइरहेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।