बैतडी- यस वर्षको एसइई परीक्षामा बैतडीमा पाँच हजार ८ सय बढी परीक्षार्थी सहभागी हुने भएका छन्।
यही चैत ८ गतेदेखि सुरु हुने उक्त एसइई परीक्षामा दुई हजार ७ सय ३६ छात्र र तीन हजार १ सय ५८ छात्रा गरी पाँच हजार ८९४ परीक्षार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त जोशीले जानकारी दिए।
तीमध्ये नियमिततर्फ दुई हजार ५ सय ७३ छात्र, दुई हजार ८ सय १६ छात्रा गरी पाँच हजार ३८९ परीक्षार्थी सहभागी हुने भएका छन् भने १ सय ६३ छात्र र ३ सय ४२ छात्रा गरी ५ सय ५ जना एक्जाम्टेडतर्फ र ८८ जना प्राविधिकतर्फ परीक्षार्थी सहभागी हुने जनाइएको छ।
ती परीक्षार्थीका लागि बैतडीमा २५ केन्द्र नियमित र दुई केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ वटा परीक्षा केन्द्र कायम गरिएको छ। एक्जाम्टेडका लागी सदरमुकामस्थित शाहिलेकमा रहेको वीरेन्द्र मावि ‘ख’ र पाटनमा रहेको पाटन भ्याली बोर्डिङ स्कुललाई परीक्षा केन्द्रका रुपमा तोकिएको विद्यालय निरीक्षक जोशीले बताए।
एसइई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ। केन्द्राध्यक्ष तोकिसकेको र बुधबारदेखि उत्तर पुस्तिका ढुवानी गरी केन्द्रमा पुर्या।उने काम भइरहेको विद्यालय निरीक्षक जोशीले जानकारी दिए। एसइई परीक्षा निर्देशिका तथा केन्द्राध्यक्ष निर्देशिका पुस्तिकाअनुसार मावि तहका प्रधानाध्यापक तथा शिक्षकलाई केन्द्राध्यक्ष तोकिएको बताइएको छ।
परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षको यही चैत ४ गते एकदिने अभिमुखीकरण कार्यक्रम राखिएको छ। उक्त अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारीले परीक्षालाई स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि केन्द्राध्यक्षलाई निर्देशन दिने जनाइएको छ।
यसैबीच, यस बर्ष बैतडीमा एसइई परीक्षाका लागि १ सय ५२ जना विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन्। विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका तथा समयमै शुल्क नतिरेका, बीचमै विद्यालय छोडेका ती विद्यार्थी परीक्षाका लागि अयोग्य भएका जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।