दिक्तेल– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित रत्नपार्कमा जथाभावी पार्किङ गरेर राखिएका सवारी साधनलाई कारबाही गरेको छ।
बसपार्क हुँदाहुँदै यातायात व्यवसायीले सडकमै पार्किङ गरेर राखेकाले ६ वटा बसको साँचो बुधबार साँझ पार्किङस्थलमै पुगेर नियन्त्रणमा लिइएको हो।
नगरपालिका प्रवेश गर्ने सबै बस तथा जिप सम्बन्धित बसपार्क तथा जिप पार्कमा लगेर राख्न पटक–पटक नगरपालिकाले गरेको अनुरोधलाई अटेर गरेपछि साँचो नियन्त्रणमा लिइएको नगर प्रमुख दीपनारायण रिजालले बताए।
‘हामीले बसपार्कसम्म पुग्ने सडक पनि बनाएका छौँ।’, उनले भने,‘विभिन्न बहाना बनाएर सडकमै पार्किङ गर्ने बस तथा जिपलाई कानूनी कारबाही गर्न थालेका हौँ।’
जिल्लामा सञ्चालित बस जथाभावी पार्किङ गरेर राखेको भन्ने स्थानीयवासीको सुचनाका आधारमा नगर प्रमुख रिजाल आफैँ सुरक्षाकर्मीसहित सो स्थलमा पुगेका थिए। यातायात व्यवसायीले बस तथा जिपलाई सडकमै पार्किङ गरेर राख्दा पैदल यात्रुलाई हिँड्नसमेत अप्ठेरो हुने गरेको छ।
यातायात व्यवसायीले भने बसपार्कसम्म पुग्ने सडक राम्रो नभएका कारण बाध्य भएर सडकमै पार्किङ गर्नुपरेको बताएका छन्। ‘नगरपालिकाले गरेको अनुरोधलाई हामीले अटेर गरेका होइनौँ।’, मध्यपहाडी यातायात व्यवसायी संघका खोटाङ प्रमुख धनीराम राईले भने,‘बसपार्कसम्म पुग्ने सडक राम्रो नभएकै कारण बाध्य भएर सडक बीचमै पार्किङ गरेका हौँ। यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।’
सदरमुकाम दिक्तेल नजिक २ वटा बसपार्क भएपनि यातायात व्यवसायीले भने सडकमै बस तथा जिप पार्किङ गर्दै आएका छन्। जिल्लामा करिब ३ सयको हाराहारीमा बस, जिप, ट्रक र ट्र्याक्टर सञ्चालनमा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।