बर्लिन– जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित भएकी छिन्।
जर्मनीको संसदले बुधबार उनलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो। युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उनको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा हुने गरेको छ।
जर्मनीको तल्लो सदनका कूल ७ सय ९ जना सांसदमध्ये ३ सय ६४ जनाले मर्केलको पक्षमा मतदान गरेका थिए। संसदको स्पष्ट बहुमत उनलाई प्राप्त भएकाले मर्केल चान्सलरमा निर्वाचित भएकी तल्लो सदनका सभामुखले घोषणा गरेका थिए।
मर्केल नेतृत्वको युनियन पार्टी र सोसियल डेमोक्र्याटिक पार्टी(एसपीडी)ले गठबन्धन सरकार बनाउने बारेमा सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। गठबन्धन बनाएका दुई पार्टी जर्मनीका सबैभन्दा ठूला पार्टी हुन्। यस्लाई ‘ठूलो गठबन्धन’को संज्ञा दिइएको छ।
निर्वाचनपछि मर्केलले राष्ट्रपतिलाई भेटेकी छिन् भने तत्काल नयाँ मन्त्रिपरिषद् बनाउने तयारी पनि सुरु गरेकी बताइएको छ।
यसैबीच चीनका राष्ट्रपति सि जिन पिङले फेरी चान्सलर निर्वाचित भएकोमा एन्जेला मर्केललाई बधाई दिएका छन्। उनले बुधबार पठाएको शुभकामना तथा बधाई सन्देशमा चीनसँगको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्ने विश्वास पनि व्यक्त गरेका छन्।
मर्केललाई अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरूले पनि बधाई सन्देश पठाएको सरकारी अधिकारीहरूले बताएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।