लण्डन– बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबार केही रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी छन्।
पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको अधिकारीहरूले बताएका छन्।
यसै महिनाको शुरुमा भएको घटनाका पीडित ती बाबु छोरीको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।
तर रुसी सरकारले भने ती बाबु छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आइरहेको छ।
घटनामा दोषी मानिएका २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
कार्यालयद्वारा जारी वक्तव्यमा देश निकालाको घोषणा गरिएकालाई एक हप्ताभित्रमा देश छोड्न समय दिइएको छ।
बेलायतमा यति धेरै संख्यामा विदेशी कूटनीतिज्ञहरूलाई देश निकाला गरिएको यो ३० वर्षपछिको सबैभन्दा ठूलो घटना हो।
उनले रुससँगको कूटनीतिक सम्बन्धलाई टुटाउन भने नचाहेको स्पष्ट पारेकी छन्। तर दुईपक्षीय उच्चस्तरीय कूटनीतिक सम्पर्क भने तत्कालका लागि स्थगित गरिएको बेलायतले जनाएको छ।
प्रधानमन्त्री मेले रुसले आयोजना गरेको विश्वकप प्रतियोगिताको कुनै पनि कार्यक्रममा बेलायती राजपरिवारका सदस्य वा मन्त्री कोहि पनि सहभागी नहुने जानकारी दिएकी छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।