राजविराज– सप्तरीको रुपनी गाउँपालिका- ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सेडको भाडा नतिर्ने ४ वटा उद्योग कब्जामा लिएको छ।
अल नेप्लिज टि एण्ड कफी उद्योग, कृष्णा खाद्य उद्योग, भगवती कृषि सहकारी संस्था लिमिटेड र पदमा ज्योति प्लाष्टिक उद्योग कार्यालयले कब्जा गरेको हो। भाडा नतिर्ने र सेडलाई गोदामको रुपमा प्रयोग गर्ने गरेपछि कार्यालयले उद्योग कब्जा गरेको प्रमुख दीपकराज आचार्यले बताए। उनीहरुबाट २४ लाख ७१ हजार १३ रुपैयाँ ६७ पैसा बक्यौता असुल हुन बाँकी छ।
अल नेप्लिज टी एन्ड कफीले २ लाख ५७ हजार ३ सय १ रुपैयाँ, कृष्णा खाद्य उद्योगले १० लाख ३९ हजार रुपैयाँ, पदमाज्योति प्लास्टिक उद्योगले ७ लाख ४८ हजार १ सय ५२ रुपैयाँ र भगवती कृषि सहकारी संस्थाले ४ लाख २६ हजार ५ सय ५१ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको आचार्यले बताए।
अल नेप्लिज टी एन्ड कफी उद्योगले आवश्यक मेसिन र कच्चा पदार्थ नल्याई लामो समयदेखि सेडमा रासायनिक मल भण्डारण गरेर राखेका कारण उसको सम्झौता खारेज गरी उद्योग कब्जा गरिएको कार्यालयले जनाएको छ। २०६८ असार १६ गतेदेखि उक्त उद्योगका नाममा सेड भाडामा लिइएको थियो।
‘हामीले उद्योग संचालनका लागि पटक-पटक पत्राचार गर्याैं,’ आचार्यले भने, ‘व्यवस्थापन कार्यालयलाई बेवास्ता गरेपछि विभागमार्फत् नै उद्योग कब्जा गर्नु पर्यो।’ अन्य तीन उद्योगले पनि सेडमा उद्योग संचालन नगरी गोदामका रुपमा प्रयोग गरेको र लामो समयदेखि भाडा नतिरी बक्यौता बढाउँदै लगेका कारण बाध्य भएर कब्जामा लिनु परेको उनले बताए।
कूल १० वटा सेड रहेको औद्योगिक क्षेत्रभित्र हाल उषा जल उद्योग, कोशी पोलिमर्स, महालक्ष्मी पेट इन्टस्ट्रिज, मिलन डेरी उद्योग र कान्तिपुर प्लास्टिक उद्योग संचालनमा छन्। औद्योगिक क्षेत्रभित्र थप ४ वटा नयाँ उद्योग स्थापनाको पहल भइरहेको आचार्यले जानकारी दिए। भारत सरकारको सहयोगमा २०४४ सालमा स्थापित यो औद्योगिक क्षेत्र २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।
सप्तरी सदरमुकाम राजविराजबाट चार किलोमिटर उत्तरमा रहेको यो औद्योगिक क्षेत्र झन्डै २२ बिघा (२ सय ९४ रोपनी) क्षेत्रफलमा फैलिएको छ। १० वटा उद्योग सञ्चालन गर्नसक्ने क्षमता रहेको यस औद्योगिक क्षेत्रमा बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत, टेलिफोनलगायतका सम्पूर्ण सुविधा उपलब्ध गराउन सक्ने संरचना छ। तर, हाल कुनै पनि सुविधा सञ्चालनमा छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।