स्वर्ण जितेपछि गोपिचन्द्रले भने - राजेन्द्रको खोसिएको गोल्डमेडल फिर्ता ल्याएँ

ऋग्वेद शर्मा/नारायण अधिकारी | २०७६ मङ्सिर २० शुक्रबार | Friday, December 06, 2019 १२:४८:०० मा प्रकाशित

काठमाडौं– सन् २००६ मा कक्षा कोठामा सरले सुनाउँदै थिए, ‘राजेन्द्र भण्डारीले जितेको गोल्डमेडल डोपिङमा परेर फिर्ता गर्नुपर्‍यो।’

दौडेर स्वर्ण पदक जितिन्छ र डोपिङ भनेको के हो भन्ने विषयमा त्यसबेला बल्ल थाहा पाए गोपिचन्द्र पार्कीले।

श्रीलंकामा सन् २००६ मा भएको १० औं सागमा राजेन्द्र भण्डारीले स्वर्ण पदक जितेका थिए। डोपिङ परीक्षणमा फेलभएपछि उनको पदक खोसिएन मात्रै दुई वर्षसम्म प्रतिबन्ध समेत लाग्यो।

यही खबर त्यतिबेला सुनेका गोपिचन्द्रले मनमनै भनेका थिए, ‘राजेन्द्रको गोल्डमेडल म फिर्ता ल्याउँछु।’

१२ वर्षमा खोलो पनि फर्किन्छ भनेजस्तै गोपिचन्द्रले मनमनै सोचेको गोल्डमेडल फिर्ता ल्याउने सपना शुक्रबार पूरा भएको छ।

५ हजार मिटर दौडमा गोपिन्द्रले १४ मिनेट ५४.२० सेकेण्डमा पार गर्दै भारतीय खेलाडी सुनिल दावरलाई पछि पार्दै स्वर्ण जिते।

स्वर्ण जितेपछि सञ्चारकर्मीसँग उनको प्रतिक्रिया थियो, ‘राजेन्द्र सरले गुमाएको गोल्डमेडल फिर्ता ल्याउछु भन्ने सपना थियो। आज त्यो पूरा गरें।’

राजेन्द्रको मेडल खोसिएको थाहा पाएपछि नै गोपिचन्द्रले दौडने निधो गरेर दौड सुरु गरेका थिए।

‘राजेन्द्र सरको मेडल खोसिएपछि दौड सुरु गरेको थिएँ। तर कसरी दौडने? कहाँ दौडने भन्ने चिन्ता थियो। केही थाहा थिएन’ गोपिचन्द्रले भने।

२०६३ सालमा स्कूल स्तरको खेल हुँदा उनी भवानी मावि धनगढी गौरीपुर कैलालीमा दौडिए। जित हात पनि पारे। कैलालीमा छनौट भएपछि उनी दौडन काठमाडौं आए। 

‘पहिलो चोटी काठमाडौं टेकेको त्यसबेलै थियो। पहिलो चोटी काठमाडौंमा दौडदा मैले हारें’ पहिलो पराजयबारे उनले सुनाए, ‘काठमाडौंमा दौडने त सबै आर्मी, प्रहरी हुँदा रहेछन्। अब हामी तालिम नगर्ने परियो। केही पनि थाहा भएन। हारियो।’

आर्मी, प्रहरी शारीरिक रुपमा पनि बलियो। तालिम पनि लिइरहने। संगठनले पनि सहयोग गर्ने। दौडन त त्यहाँ पो जानु पर्ने रहेछ। हारपछि गोपिचन्द्रको मनले यस्तै यस्तै साचेको थियो।

त्यसपछि गोपिचन्द्रले सुरक्षा फौजमै भर्ना हुने निधो गरे। २०६६ सालमा सशस्त्र प्रहरी जवान भर्ना भए गोपिचन्द्र।

‘तालिम गरियो। तालिममा पनि जहिले अब्बल नै आउँथे। अर्को तालिम गरें। त्यसमा पनि अब्बल आएँ’ तालिममा फस्ट हुँदाको अनुभव उनले सुनाए। 

तर तालिममा पहिलो भएजस्तो भने सजिलो थिएन, सशस्त्र प्रहरीको क्लबमा आउन। क्बलमा आएर खेलाडी बन्न उनले धेरै पापड बेल्नु पर्‍यो। 

‘त्यसबेला क्लबमा आउन निकै गाह्रो थियो। कुनै प्रतियोगिता थिएन। अहिलेजस्तो कुनै आइजी कप भन्ने खालको छनौट गर्ने कुनै माध्य थिएन’ क्लबमा नपर्दाको नमिठो अनुभव उनी सुनाउँछन्। 

सशस्त्रमा जागिरे भएपछि उनको सुदूरपश्चिम खप्तडमा सरुवा भयो। त्यहाँ हुँदाहँदै सशस्त्र प्रहरीकै निकै कठिन मानिने एसटिएफ तालिममा उनले आफ्नो नाम टिपाए। 

एसटिएफ तालिमकै क्रममा उनको डिएसपी माधव रेग्मीसँग चिनजान भएको थियो। त्यही चिनजान नै उनको क्लब यात्राका लागि महत्वपूर्ण बन्यो।

डिएसपी रेग्मीपछि शाखा इन्चार्ज भएर क्लबमा गए।

‘क्लबमा मलाई पनि तान्नु पर्‍यो। खेलमा मेरो क्षमता छ’ डिएसपी रेग्मीसँग गोपिचन्द्रले अनुनय गरे। 

तालिमकै क्रममा गोपिचन्द्रको क्षमताको नाडी छामेका रेग्मीले उनको भनाइमा सहमति जनाए। प्रशिक्षक सुशीलनरसिंह राणाले गोपिको क्षमतालाई अवसर दिनुपर्छ भनेपछि २०६९ सालमा गोपिचन्द्र सशस्त्रको क्लबमा छनौट भएका थिए।
क्बल आएको तीन महिनामै राष्ट्रिय टिममा उनी परे। अनि एसियन खेलमा १० हजार मिटरको रेकर्ड पनि गरेँ।  २ वटा म्याराथन जिते पनि।

गोपिचन्द्रले ५ हजार मिटर पनि दौडनुपर्छ भन्ने पहिल्यै सोचेका थिए। किनकी राष्ट्रको खोसिएको मेडल फिर्ता गर्ने बाचा उनले सुरुमै गरेका थिए। त्यसपछि १० हजार मिटरबाट तल झेरेर ५ हजार मिटरमा उनी अभ्यासमा अभ्यस्त हुन थाले।  

‘यो १३ वर्षको तयारी भनौं, आजको यो मेडल त्यसैको मेहनत हो’ मेडल जितेपछि विजयी भावमा उनले सुनाए। 

आज स्वर्ण जित्नु उनका लागि त्यति सहज भने थिएन। 

‘आजको दौडमा भारतीय र श्रीलंकनहरु निकै टफ थिए। उनीहरुमा के थियो भने दौड जित्ने हो। फास्ट कुदेर मात्रै हुँदैन भन्ने थियो’ विपक्षी खेलाडीको पाइन जाँचिसकेका गोपिचन्द्र भन्छन्, ‘उनीहरुको त्यो स्ट्रेटेजी अगाडि मेरो १३ वर्षको मेहनतले हार खाने कुरै थिएन।’

भारत र श्रीलंकाले रणनीति बनाइरहेका थिए। अगाडि भाग्दिने, छेक्दिने, जस्ता अनेक अवरोध दौडका क्रममा आए।

‘भारतले गोल्ड मेडलन नचुकाउन खोजीरहेको थियो। तर मैले मेडल खोस्नु परिरहेको थियो’ दौडको प्रतिस्पर्धा सम्झन्छन् गोपिचन्द्र, ‘जितेको मेडल जसरी हुन्छ फेरि खोस्नुछ मैले भन्ने मेरो दिमागमा थियो।’ 

गोपिचन्द्रमा विश्वास थियो, देश, एथ्लेटिक्स संघ र राजेन्द्रको खोसिएको मेडल फिर्ता ल्याउनुछ। दर्शकलाई खुसी दिनुछ। त्यही सम्झिएर उनी दौडिए।

अन्नत गोल्डमेडल हात पनि पारे।

र, भने ‘राजेन्द्रको खोसिएको गोल्डमेडल फिर्ता ल्याएँ।’ 

स्वर्ण पदक हात पारेपछि आफ्नो पहिलो सोच पुरा भएको बताउँदै गोपिचन्द्रले भने, ‘अब मेरो टार्गेट भनेको म्याराथन खेलेर हाम्रो लेजेण्ड गुरु बैठकुण्ठ मानन्धरको कीर्तिमान तोड्नु हो।’