काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले संसदबाट झन्डै तीन चौथाइ मत प्राप्त गरेका छन्।
संसदमा भएको मत विभाजनमा प्रधानमन्त्री ओलीले पक्षमा २ सय ८ मत प्राप्त गरे। ओलीको विपक्षमा ६० मत खस्यो। मत विभाजनमा कुल २ सय ६८ सांसद सहभागी भए।
ओलीको पक्षमा एमालेसहित माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरमका सांसदका साथै तीन स्वतन्त्र सांसदले मत हालेका थिए।
कांग्रेस र नेमकिपाले विपक्षमा मतदान गर्दा नयाँ शक्तिका स्वतन्त्र सांसद बाबुराम भट्टराई भने अनुपस्थित थिए।
यसअघि, एमाले नेता माधवकुमार नेपालले संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए। त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका दलले समर्थन गरेका थिए।
प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई समेत विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता संसद् बैठकमा दोहोर्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।