काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितताको कामना गरेकी छन्।
राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्नु आजको आवश्यकता देखिएको बताएकी हुन्।
महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको सन्देशमा उल्लेख छ।
महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चितता गर्न आवश्यक रहेकामा राष्ट्रपति भण्डारीले जोड दिएकी छन्।
महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा महिला अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्न यस दिवसले प्रेरणा दिन सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।