- डा. कुशल कार्की
शल्यक्रिया गरेपछि होस् या ओपिडीबाट फर्केपछि, बिरामीले एउटा प्रश्न अवश्य सोध्छन्, ‘डाक्टर, मैले के खानु हुन्छ , के खानु हुन्न?’ यसै प्रश्नसँग जोडिएको छ कुनै पनि रोगबाट बच्न सकिने या फेरि त्यो रोग लाग्नबाट बच्ने उपाय। मिर्गौलाको पत्थरीको नराम्रो पक्ष के छ भने, मिर्गौलाबाट सबै पत्थरी निकाले पनि अर्को १० वर्षमा ५० प्रतिशत मानिसलाई फेरि यो पत्थरी हुन सक्छ।
खासमा रोगको उपचार गर्नुभन्दा, रोग लाग्न नदिनु उत्तम मानिन्छ। तर, यो रोग लाग्न नदिन बिरामी र चिकित्सक दुवै जिम्मेवार हुनुपर्छ। चिकित्सकको मुख्य ध्यान बिरामीको शल्यक्रिया र कसरी बिरामीलाई सकुशल घर पठाउन सकिन्छ भन्नेमा केन्द्रित छ। तर, कतिपय चिकित्सकले रोग लाग्न नदिने पाटोलाई खासै प्राथमिकता दिएका छैनन्।
यस्तै, धेरै बिरामीलाई त पत्थरी निकालिसकेपछि पनि फेरि पत्थरी हुन्छ भन्ने ज्ञान नै हुँदैन। कति बिरामीले सही सल्लाह पाउँदैनन्। सल्लाह पाए पनि धेरैले यसलाई महत्व दिँदैनन्।
मिर्गौला या मुत्रनलीबाट कुनै पनि पत्थर निकालेपछि त्यसको वैज्ञानिक परीक्षण गरी कुन प्रकारको पत्थर हो भनी पत्ता लगाउनु उपयुक्त हुन्छ। बिरामीको मिर्गौलाबाट पत्थर निकालेपछि २४ घण्टाको पिसाब जम्मा पारेर कम्तिमा दुई पटक परीक्षण गर्नुपर्छ। त्यसपछि मात्र के खानु हुन्छ र के खानु हुन्न भन्ने सबालको जवाफ दिन सकिन्छ। यो परीक्षण केही झन्झटिलो र खर्चिलो पनि छ। त्यसैले बिरामीले पत्थरी निकालिसकेपछि फेरि किन परीक्षण गर्नु र भन्ने ठानी त्यसै बसिदिन्छन्। उसो त चिकित्सकले पनि पत्थरी झिकिसकेपछि परीक्षण गरिरहनका लागि बिरामीलाई उचित सल्लाह दिने गरेको भेटिँदैन।
तीन थरिका मिर्गौला पत्थरी
पत्थरी निकालेपछि त्यसको परीक्षण गरेर त्यो कुन पत्थरी हो भन्ने पत्ता लगाएमा खाने कुराबारे बिरामीलाई जानकारी दिन सहज हुन्छ। परीक्षणबाट पत्थरी कुन जातको र त्यो कसरी बन्छ भन्ने कारण पत्ता लगाउन सकिन्छ।
हामीकहाँ मिर्गौलामा तीन प्रकारका पत्थरी बढी मात्रामा देखिने गरेको छ। यदि निकालिसकेको पत्थरी कस्तो हो भनेर परीक्षण गर्ने हो भने तीन प्रकारकै पत्थरीमा के–के खाने, के–के नखाने भनेर छुट्याउन सजिलो हुन्छ।
१. ओक्जालेट पत्थरी
मिर्गौला पत्थरीका धेरैजसो बिरामीलाई ओक्जालेट पत्थरी हुने गर्छ। ओक्जालेट पत्थरी हुँदा रातो मासु, बदाम, चकलेट, गेडागुडी, पालक जस्ता खानेकुरा बार्नुपर्छ। तर, यी खानेकुरा खानै नहुने भन्ने होइन। यी खानेकुरा खाँदा क्याल्सियम भएका खानेकुरासँग खानुपर्छ। जसले गर्दा मिर्गौलामा यी तत्वहरुको मात्रा कम हुन्छ। कुनै कारणले भिटामिन सीको सेवन गरिरहेको छ भने त्यसलाई रोक्नु उपयुक्त हुन्छ।
२. इस्ट्रुभाइट पत्थरी
इस्ट्रुभाइट पत्थरी विशेषगरी महिलामा हुने गर्छ। पिसाबको संक्रमणसँग यसको सम्बन्ध हुन्छ। प्रोटेस जातको किटाणूले गर्दा हुने पिसाब संक्रमण पटक(पटक भएमा इस्ट्रुभाइट पत्थरी देखिन सक्छ। यो पत्थरी फेरिफेरि दोहोरिन सक्छ। त्यसैले उपचार गर्दा यो पत्थरी पुरै निकाल्नुपर्छ र पिसाबको संक्रमणबाट जोगिनुपर्छ।
३. युरिक एसिड
युरिक एसिडका कारण जम्मा हुने पत्थरी भएमा युरिक एसिड बढाउने खालका खाना कम गर्नुपर्छ। खास गरी रातो मासु (राँगा, खसी, बुङ्गुर, सुँगुर आदि) खान कम गर्नु पर्छ। यस्तै, गेडागुडी, मदिरा, गुलियो र चिल्लो खाने कुरालाई पनि कम गर्नुपर्छ। यसैगरी, चिकित्सकको सल्लाह बमोजिम युरिक एसिड कम गर्ने औषधि समेत लिन सकन्छ।
पानी कति खाने?
सबै चिकित्सकले पत्थरी भएका बिरामीलाई धेरै पानी खान सल्लाह दिन्छन्। तर, बिरामीलाई पानी कति खानुपर्छ भन्ने ज्ञान हुँदैन। त्यसैले कति पानी ‘धेरै’ हो र कति ‘थोरै’ भन्ने यकिन हुँदैन।
पानी कति खाने भन्ने कुरा बिरामी बस्ने वातावरण, उसको पेशा, दैनिक क्रियाकलाप आदिमा भर पर्छ। गर्मी ठाउँमा काम गर्ने किसान अनि एयर कन्डिसनमा बसेर काम गर्ने मानिसले खानुपर्ने पानीको मात्रा एउटै हँुदैन। सामान्यतया गर्मी मौसम मा ३–४ लिटर र जाडोमा २–३ लिटर पानी (झोल पदार्थ) पिउनुपर्छ। यसलाई नाप्ने अर्को उपाय भनेको पिसाब हो। पानीजस्तो सङ्लो र गन्दरहित पिसाब नआएसम्म बिरामीले पानी खानुपर्छ। प्रसस्त पानी पिउँदैमा राम्रो हुन्छ भन्ने छैन। कसैकसैले ८–१० लिटर पानी पिउने गरेको पाइन्छ, जुन आवश्यक छैन। कसरत, व्यायाम अथवा खेलकुदका बेला निस्किने पसिनाले गर्दा पिसाब कम र बाक्लो बन्छ। यस्तो बेलामा पत्थरी हुने सम्भावना रहन्छ। त्यसैले शारीरिक श्रम पर्ने काम गर्दा प्रसस्त पानी खानुपर्छ।
ध्यान दिनुपर्ने कुरा
चिकित्सकहरुले सबै पत्थरीको बारेमा बिरामीलाई एकैखाले सल्लाह दिने गर्छन्। यो सही तरिका होइन।
बिरामीमा देखिने विभिन्न पत्थरीमा क्याल्सियम पनि मिसिएर आएको हुन्छ। सही मात्रामा क्याल्सियमजन्य खानेकुरा खानुपर्छ। क्याल्सियमले अरु पत्थरी बन्ने तत्वसँग मिलेर पत्थरी बन्ने प्रक्रिया रोक्छ। यसले पत्थर बढ्नुको साटो यसबाट बच्न मद्दत गर्छ्र। त्यसैले पत्थर भएका बिरामीले दूध खान छाड्नु पर्दैन।
यस्तै, फलफूलमा सिट्रेट नामको तत्व हुन्छ। जसले मिर्गौलामा पत्थर बन्ने प्रक्रियालाई रोक्छ। त्यसैले एकपटक पत्थरी भइसकेको बिरामीले फेरि पत्थर बन्न नसकोस् भन्नलाई फलफूलहरु खानुपर्छ। कागती, सुन्तला, जुनार, भोगटे आदि फलफूलहरु पत्थर हुने बिरामीले खानु उपयुक्त हुन्छ।
मधुमेह, मोटोपन, कोलेस्टोरलका बिरामी सतर्क हुनुपर्छ। जीवनशैली र खानपानका कारण यस्ता रोग लाग्नेको संख्या बढ्दो छ। यस्ता बिरामीलाई अन्य खराबीसँगसँगै रोगले मिर्गौलामा पत्थरी पनि गराउन सक्छ। त्येसैले मोटोपनलाई सही ठाउँमा राख्ने र स्वस्थ्य खानपिनमा ध्यान दिने गर्नुपर्छ।
एक पटक पत्थरी भइसकेको बिरामीलाई जिन्दगीभर यो रोग बल्झिने सम्भावना रहन्छ। तसर्थ खानपान बाहेक पनि बिरामीले आफ्नो स्वास्थ्यको ध्यान दिनुपर्छ। दैनिक व्यायामको साथै पिसाबको संक्रमणबाट बच्नु जरुरी छ।
हाम्रो समाजमा अझै पनि मिर्गौलाको पत्थरीको उपचार गर्न गहतको दाल, मकैको जुँगा, नीमको पात, अदुवा तथा विभिन्न जडीबुटी सेवन गर्ने चलन छ। यस्तो उपचार पद्दतिले पत्थरी झरेको तथा पगालेको कुनै वैज्ञानिक आधार छैन। तर, बिरामीहरु यसमा अल्झिएर चिकित्सककहाँ ढिलो पुग्ने गरेका प्रसस्त उदाहरण छन्। यदि समयमा ध्यान नदिने र ढिलो गरी चिकित्सकोमा पुग्ने हो भने रोग निको हुने सम्भावना उत्तिकै जटिल बन्दै जान्छ।
(युरोलोजिस्ट कार्की किस्ट मेडिकल कलेजमा प्राध्यापन गर्छन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।