काठमाडौं– कहिले सिके राउत त कहिले फ्रि तिब्बत गतिविधिको समर्थन गरेर विवादमा परेको नेपाल मानव अधिकार संगठनले बिहिबारदेखि लुम्बिनीमा परिषद् भेला गर्ने भएको छ। करिब २ सय प्रतिनिधि बोलाएर गर्न लागिएको भेलाको आर्थिक स्रोत भने ‘गोप्य’ राखिएको छ।
स्रोतका अनुसार, काठमाडौंस्थित केही दूतावास र विवादास्पद संस्थाहरुले सहयोग गरेकाले आर्थिक स्रोत गोप्य राखिएको हो।
भेलाको प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका उपाध्यक्ष अनुपराज शर्मालाई बनाइएको छ। त्यस्तै, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, कांग्रेस नेता शशांक कोइराला, दमननाथ ढुंगाना लगायतलाई अतिथि बनाइएको छ। कार्यक्रममा भारतको दलाई लामाको धर्मशालाबाट समेत केही प्रतिनिधि आउने सूचना पाएपछि स्थानीय सुरक्षा निकायले चासो व्यक्त गरेका छन्।
लुम्बिनीको महाबोधी हलमा आयोजना गर्न लागिएको भेलामा ७७ जिल्लाबाट २/२ जनाका दरले प्रतिनिधि सहभागी हुँदै छन्। भेलामा विभिन्न व्यक्तिलाई पर्यवेक्षकको रुपमा बोलाइएको छ। उनीहरुलाई लुम्बिनीको कोरियन गुम्बामा बस्ने व्यवस्था मिलाइएको छ।
स्रोतका अनुसार, फ्रि तिब्बत गतिविधिलाई सहयोग गर्ने सर्तमा कार्यक्रमलाई दलाई लामा फाउन्डेसनले समेत सहयोग गरेको छ। तर, संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले भने उक्त फाउन्डेसनबाट सहयोग नलिएको दाबी गरे। संगठनमै राम्रो आर्थिक हैसियत भएका व्यक्तिहरुबाट पैसा संकलन गरिएको उनको भनाइ छ।
राष्ट्रिय मानव अधिकार आयोग तथा को–क्याप नामक संस्थाले पनि कार्यक्रमका लागि भनेर केही सहयोग दिएको छ। तर, कार्यक्रमका लागि ५० लाखभन्दा धेरै खर्च हुने संगठनका एक अधिकारीले बताए। काठमाडौंबाट जाने एक सयभन्दा धेरै प्रतिनिधिलाई प्लेनको टिकट काटिएको छ।
संगठनले सबै पार्टीका नेताहरुलाई कार्यक्रममा बोलाएको छ। सबैलाई बोलाएर शान्ति क्षेत्र घोषणा गर्ने तयारी छ। कार्यक्रमको एउटा उद्देश्य तिब्बती शरणार्थीहरुलाई सहयोग गर्ने समेत रहेको स्रोत बताउँछ।
सिके राउतको विखण्डनवादी अभियानलाई सहयोग गरेको भन्दै संगठन विवादमा तानिएको थियो। विदेशी सहयोग लिएर विभिन्न व्यक्तिको स्वार्थमा काम गरेको आरोप संगठनमाथि लाग्दै आएको छ। गृह मन्त्रालयले सो संस्थाले फ्रि तिब्बत गतिविधिमा सहयोग पुर्याउँदै आएको भन्दै निगरानीका लागि सुरक्षा निकायलाई विगतमा निर्देशन दिएको थियो।
अध्यक्ष अर्याल भने आफूहरु विदेशी सहयोगबिनै निष्पक्ष ढंगले चलेको दाबी गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।