काठमाडौं– ‘कौन बनेगा करोडपति’का नाममा चिठ्ठा पर्यो भनेर ठगी गर्ने गिरोहका एक सदस्यलाई काठमाडौंमा प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक घर भएका नुर्पु तामाङलाई गौशाला प्रहरीले पक्राउ गरेको हो।
उनले इमो तथा भाइबरमार्फत चिठ्ठा परेको भनेर ठगी गर्ने भारतीय गिरोहलाई सहयोग गर्दै आएका प्रहरीले जनाएको छ। ठगीको पैसा लिन जाँदै गर्दा उनी पक्राउ परेका हुन्। उनी विरुद्ध चार जनाले जाहेरी दिएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी अनुपम श्रेष्ठले बताए।
यसरी भयो ठगी
चावहिल बस्ने रचना गिरीलाई करिब एक महिनाअघि २५ लाख रुपैयाँ चिठ्ठा परेको भन्दै इमोमा म्यासेज आयो। पैसा लिनका लागि प्रक्रिया अघि बढाउन उनलाई भनियो।
पछि फेरि उक्त पैसा लिन सरकारलाई पहिले नै कर तिर्नुपर्ने भन्दै उनलाई म्यासेज पठाइयो। त्यसका लागि ३ लाख रुपैयाँ कर लाग्ने भन्दै पैसा मागिएको थियो।
२५ लाख आउनेमा विश्वस्त रहेकी उनलाई ३ लाख तिर्न गाह्रो थिएन। उनले नुर्पु तामाङको नाममा आइएमई मार्फत ३ लाख पठाइन्। कर बुझाएको केही दिनमै बैंक खातामा पैसा आउने बताइएको थियो। तर, पैसा आएन। बरु म्यासेज पठाउने व्यक्ति सम्पर्कविहीन भए।
रचना जस्तै कम्तीमा ४ जनालाई तामाङले त्यसरी ठगेका थिए। एक व्यक्तिले पठाएको पैसा लिँदालिँदै उनलाई प्रहरीले पक्राउ गरेको हो।
‘अरु व्यक्तिहरुले समेत उनलाई पैसा पठाउन लागेका रहेछन्’, डिएसपी श्रेष्ठले भने, ‘उनीहरु ठगिनबाट जोगिएका छन्।’
कतिपयले विभिन्न नाममा चिठ्ठा परेको भनेर ठगी गरेको प्रहरीले जनाएको छ।
ठगीका मुख्य नाइके भारतीय भएको र उनको खोजी भइरहेको डिएसपी श्रेष्ठले बताए।
ठगिएपछि आफैं ठगीमा
सिन्धुपाल्चोकको मार्मिङ घर भएका तामाङ विदेश जान काठमाडौं आएका थिए। तर, उनी चिठ्ठा ठगी गिरोहको फन्दामा परे। इमोमार्फत नै एक भारतीय गिरोहले उनलाई ठगेको थियो।
उनले आफ्नो पैसा फिर्ता माग्दा पाएनन्। बरु पैसा कमाउने एउटा प्रस्ताव आयो। नेपालमा आफूहरुको एजेन्ट भएर काम गरे १० प्रतिशत कमिसन दिने प्रस्ताव आयो। सोही अनुसार उनले भारतीय गिरोहको एजेन्टका रुपमा काम गर्न थालेका हुन्।
चिठ्ठा पर्यो भनेर ठगी गर्ने गिरोह देशभरि सक्रिय रहेको प्रहरीले जनाएको छ। फेसबुक, भाइबर, इमो, ह्वाट्सएप लगायत सामाजिक सञ्जाल तथा इन्टरनेट कलहरु प्रयोग गरी ठगी हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।