काठमाडौं– काठमाडौंमा दैनिकजसो लागूऔषध कारोबारीहरु पक्राउ पर्छन्। जसमध्ये अधिकांश जेल चलान हुन्छन्।
हरेक दिन लागूऔषध कारोबारी पक्राउ परे पनि कारोबार झन्-झन् बढिरहेको छ, किन? किनकि लागूऔषध कारोबारीहरुले उच्च नाफा कमाउने गरेका छन्।
प्रहरीले मंगलबार पक्राउ गरेको एक समूहमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुले १४ रुपैयाँ भारुमा भारतमा खरिद गरेको लागूऔषध काठमाडौंमा ल्याएर १५ सय रुपैयाँसम्म बिक्री गर्दै आएको खुलेको छ।
परिसरका एसएसपी विश्वराज पोखरेलका अनुसार, भारतमा १४ रुपैयाँ भारुमा किनेर ल्याइने मेडिकल ड्रगलाई उनीहरुले एक हजार देखि १५ सय रुपैयाँसम्म बिक्री गर्दै आएका छन्। जसका कारण पक्राउ परेपछि पनि कारोबारीहरु फेरि कारोबारमै फर्कने गर्छन्।
ग्रिजभित्र लुकाएर कारोबार
महानगरीय प्रहरी परिसरले भारतीय नागरिक मोहम्मद रियाजुद्दिनको समूहलाई ५ हजार ४ सय ९ वटा लागूऔषधसहित पक्राउ गरेको छ। कालिमाटीको परोपकार पुल नजिकैबाट सुनिल घिमिरे, बिगुल रायभरलाई समेत पक्राउ गरेको हो।
उनीहरुले टर्बाे प्लस ग्रिज लेखिएको बाल्टिनमा लागूऔषध लुकाएर कारोबार गरेको प्रहरीले जनाएको छ। उनीहरु भारतबाट काठमाडौंमा लागूऔषध कारोबार गर्ने मुख्य गिरोह हो। उनीहरुबाट बरामद लागूऔषध करिब २० लाख रुपैयाँ बराबरको भएको प्रहरीले जनाएको छ। उनीहरुबाट डाइजाल्याप, नुफिन र फेनारागन लागूऔषध बरामद गरिएको छ।
रक्सौलबाट भित्रने लागूऔषध उनीहरुले सार्वजनिक सवारीसाधनमा लुकाएर काठमाडौं लगायत शहरहरुमा पुर्याएर बिक्री गर्दै आएका थिए।
सुरुमा प्रहरीले जैसीदेवलबाट सुनील घिमिरेलाई पक्राउ गरेकोमा उनीमाथि अनुसन्धान गर्ने क्रममा ठूला कारोबारी पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।