काठमाडौं– करिब ४० वर्षअघि काठमाडौंका मन्दिरबाट चोरी भएका दुई प्राचीन मूर्ति नेपाल सरकारले अमेरिकाको न्युयोर्क शहरबाट नेपाल ल्याउने भएको छ।
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको पहलमा ती मूर्ति ल्याउन लागिएको हो। आइतबार न्युयोर्कस्थित मेट्रोपोलिटन कला संग्रहालयका अध्यक्ष ड्यानियल एच विसीले ती मूर्ति कन्सुल जनरल मधुकुमार मरासिनीलाई हस्तान्तरण गरेका छन्।
संग्रहालयले उमा महेश्वर र भगवान् बुद्धको मूर्ति हस्तान्तरण गरेको न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उमा महेश्वरको मूर्ति पाटनको टंगालहिटीबाट हराएको थियो। सो मूर्ति १२ वा १३औं शताब्दीमा बनेको विश्वास गरिएको छ।

त्यस्तै, बुद्धको मूर्ति १२औं शताब्दीमा बनेको र काठमाडौंको यट्खाटोलबाट हराएको थियो।
ती मूर्तिहरु न्युयोर्कको संग्रहालयमा रहेको थाहा पाएपछि नेपाली अधिकारीहरुले फिर्ता गर्ने पहल सुरु गरेका थिए। मूर्तिहरु चोरीको भएको जानकारी गराएपछि संग्रहालयले प्रदर्शनीबाट हटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।