काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग फुटबलको ‘ड्र’ (खेल तालिका) सार्वजनिक गर्नुअघि नै विवाद उत्पन्न भएको छ। विवादकै बीच पनि खेल तालिका भने सार्वजनिक गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज खेल तालिका सार्वजनिक गर्न गरेको कार्यक्रममा खेल तालिका सार्वजनिक नहुँदै विवाद निस्किएको थियो।
मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष छिमिङ उर्केन गुरुङ र च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले लिगको नियमावली विनै खेल तालिका सार्वजनिक गर्न लागेको भन्दै विरोध गरेका हुन्। नियमावली बनाएर मात्र खेल तालिका सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरुले सबै कार्यक्रम बहिष्कार गरेका छन्। दुबै क्लबका प्रतिनिधि कार्यक्रमबाट बाहिरिएपछि पनि खेल तालिका भने सार्वजनिक भएको छ।
राष्ट्रिय टिममा समेत रहेका क्लबका खेलाडीहरु घाइते हुँदा एन्फाबाट सहयोग हुनुपर्ने, पुरस्कार राशीमा काटिने २५ प्रतिशत कर लगायतका विषयमा दुई क्लबले आफ्नो असहमति देखाएका थिए। उनीहरुले यसअघि छलफलमा रहेको लिग नियमावलीमा नै अरु बुँदाहरुमा समेत असन्तुष्टी राखेका छन्।
ए डिभिजनको १४ क्लबमा मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, जावलालेख युथ क्लब, संकटा क्लब, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा, सरस्वती क्लब, ब्रिगेड ब्वाइज क्लब, शसस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, न्युरोड टिम र च्यासल युथ क्लब रहेका छन्।
लिगका खेलहरु मंसिर २८ गतेदेखि पुस १३ गतेसम्म हुनेछन्। सार्वजनिक गरेको खेल तालिकाअनुसार मंसिर २८ गते दिउँसो २ बजे पहिलो खेल मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।