काठमाडौं- भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर जाने भएकी छन्।
विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट साधुसन्तसहित आएका जन्तीलाई जनकपुरको रंगभूमि मैदानमा दिउँसो स्वागत तथा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
राष्ट्रपति भण्डारीले जनकपुरको जानकी मन्दिरमा पूजापाठ पनि गर्ने छिन्। प्रतिकात्मक भगवान राम र लक्ष्मणको रुप धारण गरी झाँकी र लावालस्करसहित भारत उत्तर प्रदेशको अयोध्याबाट जन्ती जनकपुर आइपुगिसकेका छन्।
५ सयको संख्यामा आएका जन्तीलाई महोत्तरीका विभिन्न स्थानसहित जनकपुरधाममा भव्य स्वागत गरिएको छ। त्रेतायुगमा भगवान राम र माता सीताको मंसिर शुक्ल पञ्चमीको दिन विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइन्छ।
साताव्यापी विवाहपञ्चमी महोत्सव मंसिर १० गतेबाट सुरु भइ १६ गतेसम्म सम्पन्न हुनेछ। गत मंगलबार पहिलो दिन नगर दर्शन, बुधबार दोस्रो दिन फूलबारी लिला गरिएको थियो भने बिहीबार तेस्रो दिन बाह्रविघा मैदानमा धनुष यज्ञ गरीएको छ। शुक्रबार तिल्कोत्सव, शनिबार मटकोर र आइतबार सीतारामको विवाहको कार्यक्रम रहेको छ।
त्यसैगरी सोमबार जन्तीलाई बिदाइ अर्थात् रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ। विवाहपञ्चमी महोत्सव मंगलबारदेखि सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।