जनकपुर- विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट साधुसन्तसहित जन्ती जनकपुरधाम आइपुगेको छ।
प्रतिकात्मक भगवान राम र लक्ष्मणको रुप धारण गरी झाँकी र लावालस्करसहित भारत उत्तर प्रदेशको अयोध्याबाट जन्ती जनकपुर आइपुगेका हुन्। ५ सयको संख्यामा आएका जन्तीलाई महोत्तरीका विभिन्न स्थानसहित जनकपुरधाममा भव्य स्वागत गरिएको थियाे।
जनकपुरधाम आइपुगेका जन्तीलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, प्रहरी उपरीक्षक शेखर खनाल र सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले स्वागत गरेका थिए।
त्रेतायुगमा भगवान राम र माता सीताकाे मंसिर शुक्ल पञ्चमीको दिन विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइन्छ। साताव्यापी विवाहपञ्चमी महाेत्सव मंसिर १० गतेबाट सुरु भइ १६ गतेसम्म सम्पन्न हुनेछ।
गत मंगलबार पहिलाे दिन नगर दर्शन, बुधबार दोस्राे दिन फूलबारी लिला गरिएको थियो भने बिहीबार तेस्राे दिन बाह्रविघा मैदानमा धनुष यज्ञ गरीएको छ।
शुक्रबार तिल्कोत्सव, शनिबार मटकोर र आइतबार सीतारामको विवाहको कार्यक्रम रहेको छ। त्यसैगरी सोमबार जन्तीलाई विदाई अर्थात रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ। मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सवहरू मध्येको विवाहपञ्चमी महोत्सव मंगलबारदेखि रुपमा सुरु भएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।