काठमाडाैं- १३औं दक्षिण एसियाली खेलकूद (साग)को उद्घाटन र समापनको दिनमा उपत्यकाको यातायातमा जोर विजोर प्रणाली लागू गरिने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेल उद्घाटनको दिन मंसिर १५ गते विजोर नम्बर प्लेटका र समापन मंसिर २४ गते जोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने जनाएको छ।
सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले उद्घाटन र समापनका दिनमा सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
महाशाखाले बिहीबार सूचना जारी गरी सागको ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित बनाउन ठूला मालबाहक सवारीसाधन रिङराेडभित्र प्रवेश नगराइदिन चालकलाई अनुरोधसमेत गरेको छ।
महाशाखाले दशरथ रङ्गशाला वरिपरिका सडकाे सकभर प्रयोग नगरी वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न, पुराना सवारीसाधन नचलाउन, तोकिएको ठाउँमा पार्किङ गर्न, ट्राफिकसम्बन्धी समस्या भएमा प्रहरीको हटलाइन नं १०३ मा सम्पर्क गर्न र ट्राफिक नियम पालना गर्न सूचनामार्फत् सर्वसाधारणलाई अपिल गरेको छ।
सूचनामा गाडीको हर्न नबजाउन तथा जथाभावी बाटो नकाट्नसमेत अनुरोध गरिएको छ। खेल हेर्न आउने सर्वसाधारणको पार्किङस्थल टुँडिखेल तोकिएकाले सोही ठाउँमा पार्किङ गर्नसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।