नयाँ दिल्ली- भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तरमा सुधार भएको छ। केही दिन अगाडिभन्दा अहिलेको वायुको गुणस्तरमा सुधार भएपछि दिल्ली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहतको अनुुभूति भएको अधिकारीले बताएका छन्।
'अहिले ‘भिजिविलिटी’को अवस्थामा निकै सुधार आएको छ, गत दुई/तीन दिन अगाडिभन्दा अहिलेको हावाको गति पनि बढेको छ,' एक अधिकारीले भने। 'मैले पहिला-पहिला स्वासप्रस्वासमा कठिनाई महसुस गरेको हुन्थेँ, तर अहिले त्यो कम भएको महसुस गरेको छु, अहिले म नियमित हिड्न सक्ने पनि भएको छु,' स्थानीय रित्वीकले भने।
अनुरागले पनि वायुको गुणस्तरमा सुधार आएको भन्दै खुसी व्यक्त गरे। उनले भने, 'पहिला भन्दा त धेरै सुधार भएको छ, धेरै राम्रो भएको छ, तर अहिले पनि धुँवा त देखिएको छ, यसमा अझै पनि सुधार आवश्यक छ।' केन्द्रीय प्रदुषण नियन्त्रण विभाग (सिपिसिबी)का अनुसार विहान नौ बजेतिर नयाँदिल्लीको आनन्द विहारमा वायुको गुणस्तर मापन गर्दा सुचकांक १७० देखिएको थियो।
त्यसैगरी अया नगरको ११९, जवाहरलाल नेहरु रंगशालाको ११८ र मेजर ध्यानचन्द राष्ट्रिय रंगशालामा १२६ मापन गरिएको अधिकारीहरुले जनाएका छन्। यसअघि केही हप्तासम्म दिल्लीको वायुको गुणस्तर अत्यन्त नराम्रो भएको भन्दै चिन्ता व्यक्त गरिएको थियो भने विद्यालयहरु पनि बन्द गरिएका थिए। त्यस्तै सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।