इराक- इराकमा भ्रष्टाचारविरोधी आन्दोलनमा सहभागी २५ प्रदर्शनकारीको एकै दिन मृत्यु भएको छ। प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमाण्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई जिम्मेवारीबाट हटाउँदै पदबाट बर्खास्तका लागि सिफारिस गरेका छन्।
बर्खास्त गरिएका कमाण्डरलाई बिहीबार नै नासिरियाका लागि खटाइएको थियो। इराकी सेनाक प्रमुखसमेत रहेका प्रधानमन्त्री अब्देल मेहदीले बर्खास्तमा परेका जमिल सुमारीलाई नासिरियामा पठाउँदै दक्षिणी इराकका सहरी इलाकामा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए।
इराकी टेलिभिजनले प्रधानमन्त्री कार्यालयको सूचनालाई उदृत गर्दै सुमारीलाई जिम्मेवारीबाट हटाइसकिएको उल्लेख गरेको छ। इराकी राज्यधिकारको राजधानी नासिरिया प्रवेश गर्ने तीन पुल प्रदर्शनकारीले कब्जामा लिएपछि सुरक्षाकर्मीसँग भएका झडपका क्रममा नासिरियामा एकै दिनमा २५ जनाको मृत्यु भएको नाम उल्लेख नगर्ने शर्तमा एक सैनिकले एएफपीलाई बताए।
घटनामा १०० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। झडपमा कैयौं सुरक्षाकर्मीसमेत घाइते भएका बताइएको छ। कर्फ्यू अवज्ञा गर्दै हजारौं नागरिकले शवलाई सहर घुमाएपछि उनीहरूको अन्त्येष्टि गरिएको छ। प्रदर्शनकारीले नासिरियास्थित इरानी वाणिज्य दूतावासमा आगजनी गरेका छन्। सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि सैनिक हस्तक्षेप गर्दै तत्कालीन शासक सद्दाम हुसेनलाई अपदस्त गरेपछि राजधानी बग्दाद र दक्षिणमा विरोध र आन्दोलनमार्फत इराकी जनताले उनीहरूको सरकार र इरानस्थित त्यसका सहयोगीहरूविरूद्ध प्रदर्शन गर्दै आएका छन्।
बुधबार राति प्रदर्शनकारीले इराकी राजनीतिमा तेहरानको प्रभावप्रति प्रदर्शन गर्दै पवित्र स्लामिक शहर नाजाफमा रहेको वाणिज्य दूतावासमा आगजनी गरेका थिए। उनीहरूले आगजनीपछि इराकबाट इरानी हस्तक्षेप अन्त्यको घोषणा गर्दै इराकको विजय भएको भन्ने भावका नाराहरू लगाएका थिए।
यसैबीच सहरी क्षेत्रमा प्रदर्शनकारी हिंसात्मकरूपमा उत्रिएपछि बिहीबार मध्याह्नदेखि अर्को सूचना नहुँदासम्मका लागि सरकारले कर्फ्यू आदेश जारी गरेकाे इराकी सैनिक स्रोतले जानकारी दिएको छ। अक्टोबरको सुरूदेखि नै राजधानी बग्दादलगायतका मध्य तथा दक्षिणी क्षेत्रमा प्रदर्शन जारी रहेको छ। प्रदर्शनकारीहरूले इराकको समग्र सुधार, भ्रष्टाचारप्रति जवाफदेहीता, सार्वजनिक सेवाहरूमा सुधार तथा रोजगारीलगायतका मागसहित करिब दुई महिनादेखि निरन्तर आन्दोलन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।