म्यान्मार– बर्मादेखि थाइल्यान्डको फुकेट आएर व्यवसायमा जमेका छन् नेपालीभाषी एन्थनी खनाल। प्रायः काममा व्यस्त रहने उनी यसपालि शिवरात्रिको मेला भर्न सबै काम छोडेर बर्मातिर लागे।
उनी हरेक साल शिवरात्रिको तिथि पारेर हिन्दूहरूको आराध्यदेव शिवको मन्दिर पुग्ने गर्छन्। यसैको निरन्तरताका लागि उनी यसपालि बर्माको सुंखई पुगे। बर्मा पुग्दा उनी अरु बेलाभन्दा बढी नै उत्साही देखिन्थे। यसको कारण थियो, राजधानी रंगुनमा आफ्ना छोरा–छोरीलाई नेपाली भाषाको अध्ययन गराउने अवसर जुर्नु।
फुकेटदेखि रंगुनको दुरी २ सय माइल पर्छ। थाइल्यान्डमै जन्मिएका खनाल अहिले पनि आफूलाई नेपाली भन्न पाउँदा गर्व गर्छन्। थाइल्यान्डमा उनले छोरा–छोरीलाई नेपाली भाषाको औपचारिक शिक्षा पनि दिलाइरहेका छन्। यो वर्ष बसन्त विदाको मौका पारेर २ महिनाका लागि छोरा–छोरीलाई रंगुन लगेका छन्। छोरा–छोरीलाई बर्मा लैजानुको पछाडि एउटै कारण छ। त्यो भनेको नेपाली भाषा र संस्कारसँग छोरा–छोरीलाई अभ्यस्त तुल्याउनु।
‘छोरा छोरीले बुवा–आमा भनेको सुन्न म आतुर छु’ खनालले भने, ‘नेपाली संस्कारमा जुन सम्मान र आत्मीयता छ, त्यो आफ्नो सन्तानमा पनि सरेको हेर्न चाहन्छु।’
एन्थनी जस्तै जोनी गिरी पनि थाइल्यान्डको खौलाकमा लामो समयदेखि व्यवसाय गरेर बसेका नेपाली भाषी हुन्। उनी पनि आफूलाई नेपाली भन्न पाउँदा गर्व महसुस गर्छन्। टुटेफुटेको नेपालीमा भन्छन्, ‘पुर्खाले नेपालबाट आएर यहाँ रगत बगाउनु भयो। पुर्खाको रगत अझसम्म हाम्रो नसामा दौडिरहेको छ। त्यसैले हामीलाई नेपालको माया लाग्छ।’
गिरी थाइल्यान्डमा नेपाली भाषा र संस्कृतिको विकाशमा सक्रिय थाई नेपाली संघले आयोजना गर्ने हरेक कार्यक्रममा नछुटाई सहभागी हुने गरेका छन्। उनी थाइल्यान्डमा मात्र होइन, बर्मामा पनि अयोजना हुने यस्ता कार्यक्रममा उपस्थित हुने गर्छन्। बर्मामा पनि हरेक वर्ष नेपाली भाषाको कार्यक्रम हुने गरेको छ। गिरी मातृभूमि बर्मा र कर्मभूमि थाइल्यान्डलाई जति माया गर्छन्, त्यति नै माया गर्छन् नेपाललाई पनि।
थाइल्यान्डका एन्थनी र जोनी जस्तै बर्माको मेचिनामा बसोबास गर्दै आइरहेका योगराज भण्डारीको दैनिकी पनि नेपाली भाषा संस्कृतिको उत्थानमा बित्ने गरेको छ।
उनी अखिल म्यान्मा हिन्दू संघले स्थापना गरेको माण्डले धर्मशालाका अध्यक्ष पनि हुन्। यही हिन्दू संघले नेपाली अध्यापन गराउने पाठशालाको पनि निर्माण गरेको छ।
‘आफ्नो भाषा–संस्कृति लोप नहोस् भनेर काम गरिरहेका छौं,’ भण्डारी भन्छन्, ‘सबैभन्दा ठूलो कुरा भाषा नै हो। यहाँका नेपालीलाई बर्मिज र नेपाली दुवै भाषा पढ्ने व्यवस्था मिलाएका छौं।’ उनका अनुसार गर्मीको छुट्टीका बेला २ महिना विद्यार्थीहरूलाई नेपाली भाषा तथा संस्कृति पढाउने काम संघले गर्दै आइरहेको छ।

मेचिनामै बसोबास गर्ने इच्छाराम गुरागाईं पनि अहिले नेपाली संस्कृति जोगाउने अभियानमा सक्रिय छन्। विगत सम्झँदै उनले भने, ‘हाम्रा हजुरबुवा सन् १९३२ मा लडाइँका क्रममा बर्मा आउनु भएको थियो। यहाँ बसोबास गर्दा उहाँहरूको एकमात्र इच्छा थियो, आफ्नो देशको भाषा र संस्कृति नमरोस् भन्ने। पुर्खाको त्यही इच्छा पूरा गर्ने काममा हामी सक्रिय छौं।’
बर्मामा नेपाली भाषा र संस्कृति प्रवद्र्धनमा सक्रिय अखिल म्यान्मा हिन्दू संघको स्थापना १९८२ मा भएको थियो। यसले बसन्त विदाको २ महिना युवाहरूलाई नेपाली भाषा सिकाउने काम गर्दै आइरहेको छ। संघले नेपालबाट भाषा साहित्यका पुस्तकहरू मगाएर युवा पुस्तालाई ज्ञान बाँड्ने गरेको छ। आफ्नो संस्थाबाट नेपाली भाषामा डिप्लोमा गर्ने विद्यार्थीसमेत रहेको संघले बताएको छ।
‘खुनको नाता भित्रदेखि नै हुँदो रहेछ। प्रवासमा हुँदा झन् बढी आफ्नो भाषा–संस्कृतिको मोह लाग्ने रहेछ,’ केही भावुक बनेका गुरागाईंले भने, ‘नेपाल हाम्रो पितृ देश हो। त्यसैले यसको माया लाग्छ।’ उनी बर्मा र थाइल्यान्डमा बसोबास गर्ने हरेक नेपाली भाषीलाई नेपाल उत्तिकै माया लाग्ने बताउँछन्।
बर्मा माण्डले निवासी खिमप्रसाद ढकालको दैनिकी पनि नेपाली भाषा र संस्कृतिको जगेर्नामै बित्ने गरेको छ। अखिल म्यान्मा हिन्दू संघको सदस्यसमेत रहेका उनी खाध्य व्यवसायी हुन्। ‘नेपालको माया मुटुको कुनै कुनामा रहे जस्तो लाग्छ,’ ढकालले भने, ‘त्यसैले संघले युवा पुस्तालाई नेपाली भाषा र संस्कृति सिकाइरहेको छ।’ केही वर्षभित्र आफ्ना दुई छोरालाई खाद्य व्यवसायको जिम्मा लगाउने सोचमा रहेका उनी यसपछि पूर्णकालीन रुपमा नेपाली भाषा, धर्म र संस्कृतिको उत्थानमा सक्रिय हुने बताउँछन्।
बर्मा र थाइल्यान्डमा खनाल, गिरी, भण्डारी, गुरागाई र ढकाल प्रतिनिधि पात्र मात्र हुन्। यहाँ बसोबास गर्ने हरेक नेपालीभाषी आफ्नो भाषा र संस्कृतिप्रति आगाध सम्मान जनाउँछन्। उनीहरू यसैले आफूहरूलाई प्रवासमा पनि जोडिरहेको दाबी गर्छन्। उनीहरूमा अहिले एउटा डरले गहिरो डेरा जमाएको छ, भविष्यमा आफ्ना सन्ततीले नेपाली भाषा र संस्कृति बिर्सिने त होइनन्। त्यसैले उनीहरू यो दिन नआओस् भनेर रातदिन दत्तचित्त भएर नेपाली भाषा र संस्कृतिको उत्थानमा खटिएका छन्।

दोस्रो विश्वयुद्धताका बर्मा पुगेका नेपालीहरू अहिले पनि नेपाललाई उत्तिकै माया गर्छन्। बर्माको मेचिना शहरलाई उनीहरूले ‘सानो नेपाल’ भनेर नामाकरण नै गरेका छन्।
बर्मामा सैन्य सरकार हुँदा राजनीतिक तथा भाषागत गतिविधि गर्न पाइँदैन्थ्यो। त्यसैले बर्मेलीहरूले नेपाली भाषा र संस्कृतिको उत्थानका लागि धार्मिक संगठनको रुपमा अखिल म्यान्मा गोर्खा हिन्दू नामक धार्मिक संघ स्थापना गरेका थिए। यसैमार्फत विगत साढे तीन दशकदेखि उनीहरू नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्दै आइरहेका छन्। संघले देशव्यापी रुपमा विभिन्न जिल्लामा आफ्ना शाखा र उपशाखा पनि विस्तार गरिसकेको छ।
बर्मा र थाइल्यान्डमा शिवरात्रि, दशैं, दिपावली, भानु जयन्ती, माघे संक्रान्ति, पूर्णिमा र बुद्धजयन्ती विशेष रुपमा धुमधामका साथ मनाउने गरिन्छ। यसलाई थप प्रभावशाली बनाउने कार्यको शुभारम्भ थाई नेपाली संघको स्थापनापछि भएको हो। यसले थाइल्यान्डमा मात्र १८ वटा विद्यालयमा नेपाली भाषाको कक्षा सञ्चालन गर्दैै आइरहेको छ। युवा पुस्तालाई मन्दिरसम्म लैजाने, पूजापाठ गराउन सिकाउने, संस्कृतिबारे ज्ञान दिने र एक आपसमा मिलेर बस्ने कला सिकाउँदै आइरहेको छ। सन् २०१० मा स्थापना भएको यो संस्थालाई नेपाल, बर्मा र थाइल्यान्ड जोड्ने सेतुका रुपमा पनि परिभाषित गर्ने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।