काबुल- उत्तरी अफगानिस्तानमा तालिबान लडाकू समूहले बुधबार गरेको बारुदी सुरुङ आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। सो आक्रमणमा परी ८ बालबालिकासहित १५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
स्थानीय समय अनुसार बुधबार अपराह्न ५ बजे तालिबान लडाकू समूहले बिछ्याएको बारुदी सुरुङमा सर्वसाधारणको सवारी साधन ठोक्किँदा १५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमले जानकारी दिएका छन्।
ताजिकिस्तानसँग सीमा जोडिएको उत्तरी इलाकामा भएको उक्त आक्रमणमा परी ६ महिला, १ पुरुष र ८ बालबालिका मारिएको रहिमले बताए। यस क्षेत्रमा तालिबानी लडाकू समूह र अमेरिकाको समर्थन रहेको अफगान सुरक्षाबलबीच नियमित झैं झडप हुने गरेको छ।
तालिबान लडाकूहरुले सेप्टेम्बरको सुरुमा प्रान्तीय राजधानी कुन्दुजमा पनि आक्रमण गरेका थिए, तर कब्जा भने गर्न सकेनन्। यद्यपी तालिबानले सन् २०१५को सेप्टेम्बरबाट केही भाग भने कब्जा गर्दै आएका छन्।
––
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।