कोलम्बो- श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार ३५ जनालाई राज्यमन्त्रीमा नियुक्त गगरेका छन्।
त्यसैगरी उनले अरु तीन जनालाई उपमन्त्रीका रुपमा नियुक्त गरे। उनीहरुलाई संसदको नयाँ निर्वाचन नहुँदासम्मका भनेर गठन गरिएको अन्तरिम मन्त्रिपरिषद्मा समावेश गरिएको हो। उनीहरुलाई राजधानी कोलम्बोस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा शपथ गराइएको थियो।
राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार नयाँ राज्य मन्त्रीमध्ये चमाल राजापाक्षेलाई रक्षा मन्त्रालय, जोन सेनेभिरत्नेलाई अर्थ तथा नीति विकास मन्त्रालय र सुशील प्रेमाजयनाथलाई अन्तर्राष्ट्रिय सम्बन्ध मन्त्रालयको जिम्मेवारी दिइएको छ। केहेलिया रामबुक्वेल्ला लगानी प्रवर्द्धन राज्यमन्त्री बनेका छन् भने अरुणीका फर्नान्डोलाई पर्यटन प्रवर्द्धन राज्यमन्त्री बनाइएको छ।
राष्ट्रपति राजापाक्षेले प्रधानमन्त्री भने केही दिन अगाडि सहोदर दाइ एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई बनाएका थिए। अघिल्लो बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामा दिएपछि महिन्दा राजापाक्षे प्रधानन्त्रीमा नियुक्त भएका हुन्।
सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले अहिलेको मन्त्रिपरिषद्लाई त्यतिबेलासम्मका लागि अन्तरिम मन्त्रिपरिषद् भनिएको छ। तत्कालीन सत्तारुढ दल युनाइटेड नेशनल पार्टी (युडीपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका सजिथ प्रेमादासालाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।