काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पुरुष भलिबलको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। रोमाञ्चक भएको खेल पाँचौँ सेटमा पुगेको थियो। खेल नेपालले ३–२ ले हार्न पुग्यो।
जितसँगै बंगलादेशले २ अंक प्राप्त गर्दा खेल पाँचौँ सेटसम्म पुगेकाले नेपालले १ अंक पाएको छ।
त्रिपुरेश्वरमा रहेको कभर्डहलमा भएको खेलको पहिलो सेटमा २५–२१ ले जितेको नेपालले दोस्रो सेट २५–२३ ले गुमाउन पुगेको थियो। तर तेस्रो सेटमा नेपालले २५–१९ ले आफ्नो पक्षमा पार्न सक्यो।
चौथो सेटमा खेल निकै रोमाञ्चक बन्यो। प्रतिस्पर्धात्मक खेलमा रेफ्रिको निर्णयमा विरोध गर्दा बंगलादेशका मोहम्मद सुजोनले पहेँलो कार्डसमेत पाएका थिए। सेट २४ बराबरी हुँदै अघि बढेको थियो। तर नेपालले चौथो सेट २४–२६ ले हार्न पुग्यो।
१५ अंकमा निर्णय हुने पाँचौँ सेटमा नेपाल १२–१५ ले पराजित हुँदै खेल गुमाउन पुग्यो।
मंसिर १५ मा औपचारिक उद्घाटन भएपनि भलिबल खेल भने आज (बुधबार) देखि सुरु भएको हो। आजै भएको महिला भलिबलको उद्घाटन खेलमा भने नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको थियो। उक्त खेलमा नेपालले बंगलादेशलाई २५–९, २५–९ र २५–११ को सेटमा हराएको हो।
पुरुष भलिबलमा समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन्। समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।