हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका-७को लाग्नाडाँडामा बुधबार साँझ टिप्पर पल्टिदा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु ४ ख ३२६९ नंम्बरको टिप्पर दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेमा नाम्खा गाउँपालिका-१ निवासी हेप्का गाउँका तान्ज्योत लामा, छिरिङ लामा‚ नोरी लामा रहेका छन्। टिप्पर सडकभन्दा करीब ३० मिटर तल खसेको छ। घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।
टिप्पर चालक काभ्रे जिल्ला बुद्ध नगरपालिका-११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानीयबासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्। चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको स्थानीयबासीले बताएका छन्।
दुर्घटनामा के कति हताहत भए भन्ने अनुसन्धान र घाइतेहरुको उद्धारका लागि प्रहरी सहायक निरीक्षकसहितको १३ जनाको टोली घटनास्थलमा पुगेको छ। घाइतेको अवस्था बुझ्नको लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल अस्पतालमा गएका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।