रोम, इटली – इटलीमा आइतबार भएको निर्वाचनको परिणाम आइरहँदा उक्त चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिएको छैन।
करिब १० वर्ष पहिलेस्थापित फाइभ स्टार सबैभन्दा शक्तिशाली दल बनेको छ। फाइभ स्टार मुभमेन्टले पनि आफ्नो शक्तिको लेखाजोखा गर्दै राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलनका लागि काम गर्ने बताएको छ। यद्यपि उक्त दलले गठबन्धन सरकार बनाउने विषय भने अस्वीकार गरिरहेको छ।
संसद्को सबै ६३० सदस्य सङ्ख्याका लागि भएको निर्वाचनमा जम्मा तीन हजार ९०१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने सिनेटको ३१५ सदस्यका लागि एक हजार ९५८ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
दक्षिणपन्थीहरूको भन्दा फाइभ स्टारले कम सीट जितेको छ। तर पार्टीका नेताहरूले नयाँ सरकारको खम्बा उक्त दल हुने बताएका छन्। आप्रवासन विरोधी लिग पार्टी वा पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको फोर्तसा इटालियामध्ये कुन चाही शक्ति गठबन्धनभित्रको सबैभन्दा ठूलो दल बनेको छ भन्ने स्पष्ट भइसकेको छैन।
सर्वेक्षणहरूले बहुमत प्राप्त गर्ने अवस्थाको नजिक भने पूर्वप्रधानमन्त्री बेर्लुस्कोनीले नेतृत्व गरेको मध्य दक्षिणपन्थी गठबन्धन रहेको देखाएको छ।
सरकारको नेतृत्व सम्हालेको मध्य वामपन्थी दलले हार स्वीकार गरेको छ।
इटालीले पहिलो पटक निर्वाचनसम्बन्धि नयाँ कानूनको प्रयोग गर्दै आइतबार मतदान सम्पन्न गरेको थियो । नतिजा पूर्ण विवरण आउन अझै केही घण्टा पर्खिनुपर्नेछ।
निर्वाचनमा सबै उम्मेदवारको मुख्य आकर्षण इटालीको अर्थतन्त्र र सुरक्षा मुद्दा मुख्य रूपमा चर्चामा रहेको छ। निर्वाचनमा आप्रवासीसम्बन्धी मुद्दाले पनि निकै चर्चा पाएको थियो । इटालीको दक्षिणपन्थी पक्षले आप्रवासीविरोधी मुद्दालाई बेजोडरूपले उठाएको छ।
इटालीमा सन् २०१३ पछि मध्य तथा वामपन्थी प्रजातन्त्रिक दलको गठबन्धनका तीन फरक÷फरक प्रधानमन्त्रीले सत्ता सम्हालिसकेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।