सप्तरी- अग्निसाइर कृष्णासवरन गाउँपालिकामा हात्ती र बाँदरले दुःख दिन थालेपछि अग्निसाइर मन्दिरमा स्थानीयवासीले सामूहिक पूजापाठ गरेका छन्।
स्थानीयवासीले हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाइ मंगलबार सामूहिक पूजा गरेका हुन्। कोशी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै ज्यानसमेत जोखिममा पर्न थालेपछि गाउँलेले शान्तिको कामना गर्दै हात्ती र बाँदरको मूर्ति बनाई पूजापाठ गरेका हुन्।
जङ्गली हात्ती गाउँ पसेर किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेकाले पूजा गरेको स्थानीयवासी श्यामकुमार चौधरीले बताए।
जङ्गली जनावरबाट असुरक्षित भएको बारे स्थानीय सरकार, वन कार्यालय, कोशी टप्पु आरक्ष, जिल्ला प्रशासनलगायलाई जानकारी गराउँदा सुनुवाइ नभएको स्थानीयवासी सूर्यमान तामाङ बताउँछन्।
गाउँमा दैवी प्रकोप र बिपत्ति आएमा अग्निसाइर मन्दिरको पूजा गरे शान्ति हुने धार्मिक विश्वास छ। स्थानीयवासीले चन्दा सङ्कलन गरेर सामूहिक पूजा गरेका हुन्।
'हामीले हात्ती धपाउन हरेक उपाय अपनायौँ', अग्निसाइर कृष्णासवरन–२ का खड्गबहादुर तामाङले भने, 'सम्बन्धित निकायमा पटक–पटक आग्रह गर्यौँ, कसैले चासो नदिएपछि सामूहिक पूजा गर्न बाध्य भयौँ।' अग्निसाइर देउता रिसाएका कारण जनावरले गाउँलेलाई सताएको उनीहरुको बुझाइ छ।
पछिल्लो समय जङ्गली हात्ती, बाँदर र बँदेलले आतङ्क मच्चाउन थालेपछि खेतीयोग्य जग्गा बाँझै रहने गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।