काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले सर्वियाको रेड स्टार बेलग्रेडलाई पराजित गरेको छ। मंगलबार राति भएको समूह ‘बी’को खेलमा बायर्नले रेल स्टार बेलग्रेडलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
बायर्नको यो फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिकसहित ४ गोल गरे। त्यस्तै, लियोन गोरेटज्का र कोरेन्टिन टोलिसोको नाममा समान १–१ गोल रह्यो।
खेलको १४औं मिनेटमा लियोनको गोलबाट बायर्नले अग्रता लिएको थियो। खेलको ५३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई २–० गोलको अग्रता दिलाए। त्यसपछि उनले ६० र ६४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। ६७औं मिनेटमा लेवान्डोस्कीले अर्को गोल गर्दै बायर्नलाई ५–० गोलको अग्रता दिलाए।
खेलको ८९औं मिनेटमा टोलिसोले गोल गरेपछि बायर्न ६–० गोलले विजयी भएको हो। बायर्नले ५ खेलबाट शतप्रतिशत जित हात पार्दै च्याम्पियन्स लिगको नकआउट चरणमा यसअघि नै प्रवेश गरिसकेको छ।
मंगलबार राति नै भएको समूह ‘सी’को खेलमा म्यानचेस्टर सिटी र शख्तर डोनेटस्कले १–१ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।