काठमाडौं- सुपुर्दगी विधेयकको विरोधमा उठेको आन्दोलनले तातिएको हङकङमा विश्वको ध्यान नै खिच्ने गरी हालै एउटा चुनाव सम्पन्न भयो।
मुख्यभूमि चीनबाट बढी स्वतन्त्रताका लागि लडिरहेको हङकङमा भएको स्थानीय चुनावको अन्तिम नतिजा सोमबार सार्वजनिक भयो।
चुनावी नतिजा चीनलाई चिन्तामा पार्ने गरी आएको छ। त्यो यसमानेमा कि जसले बढी नै स्वतन्त्रता अर्थात् प्रजातन्त्र मागेका थिए‚ उनीहरु नै हङकङको चुनावी नतिजामा हावी भए।
उनीहरुका अघि वरिष्ठ राजनीतिज्ञदेखि आफ्नो क्षेत्रमा बलियो पकड बनाउन सफल भएका उम्मेदवारसम्मले हार व्यहोर्नु परेको छ।
प्रजातन्त्र पक्षधर समेत भनिएका उनीहरु युवा विद्यार्थीदेखि अभियान्तासम्म छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको सहयोगमा नेपाल लाइभले ती चार अनुहारलाई समेटेको छ, जसले चीनलाई चुनौती दिने गरी चुनावी नतिजा आफ्नो पोल्टामा पार्न सफल भए।
जिम्मी साम
.jpg)
हङकङको प्रजातन्त्र पक्षधर ठूला समूहमध्येकै एक सिभिल ह्युमन राइट्स फ्रन्टका ३२ वर्षीय जिम्मी सामले यो चुनावमा ठूलो जित हाँसिल गरे। उनले बेइजिङ पक्षधर सिभिल फोर्सका उम्मेदवार माइकल बोङलाई हङकङको लेक यूएन निर्वाचन क्षेत्रमा झन्डै १ हजार मतले पराजित गरेका छन्।
समलिङ्गी भएका कारणले केही महिनायता सामाजिक सञ्जालमा उनी विवादमा तानिएका थिए। उनलाई अक्टोबरमा हमला गरिएको थियो। जसबाट उनी रक्ताम्य भएर सडकमा लडेका थिए।
चुनावमा उनले सर्वाधिक मतान्तरले जित हासिल गरेपछि उनीमाथि थुप्रै मतदाताले आश गरेका छन्।
करिन फू
.jpg)
करिन फूले फोर्ट स्ट्रिट निर्वाचन क्षेत्रमा जित हाँसिल गरेकी छन्। २३ वर्षीया करिनले फोर्ट्रेस हिल क्षेत्रमा आफ्नो बाल्यकाल व्यतित गरेकी थिइन्। उनले ४५ वर्षीय प्रतिद्वन्दी हुङ लिन चामलाई पराजित गरेकी हुन्।
हुङ लिन चाम हङकङको समुन्नतिका लागि बेइजिङ पक्षधर डेमोक्रेटिक एलिएन्ससँग जोडिएका थिए‚ जसले पछिल्ला ३ वटा चुनावमा लगातार निर्विरोध जित हासिल गरेका थिए।
करिन फूले युनिभर्सिटी अफ हङकङबाट कला (आर्ट) विषयमा ग्राजुएट गरेकी छन्।
जोर्डन पाङ्
.jpg)
जोर्डन पाङ् हङकङ युनिभर्सिटी विद्यार्थी संगठनमा निष्पक्ष वकालत गर्ने नेता भनी चिनिएका एक सक्रिय अभियन्ता हुन्। उनले ४५ वर्षीय चेउङ्लाई पराजित गरे।
चेउङ सन् २०११ देखि नै साइ वानको प्रतिनिधित्व गर्दै आएका थिए।
जिल्ला परिषद्‚ विधान सभा र कार्यकारी परिषद् सम्हालिसकेकाले उनलाई त्रिपक्षीय सांसद पनि भन्ने गरिन्छ।
पाङ्ले मतदातालाई आभार व्यक्त गर्दै अझै धेरै चुनौती रहेको भनी आफ्नो फेसबुकमा स्टाटस समेत राखेका छन्।
पाङका अनुसार उनलाई अज्ञात व्यक्तिहरूले पठाएका धम्कीपूर्ण म्यासेजका बावजुद पनि उनले निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।
क्यारी लो
.jpg)
डेमोक्रेटिक पार्टीकी क्यारी लोले करिब १२ सय मतान्तरले जित हासिल गरे। क्यारी लोले बेइजिङ पक्षधर उम्मेदवार जिनियस होलाई पराजित गरेका हुन्।
३७ वर्षीय लोले हङकङका विवादास्पद राजनीतिज्ञ होलाई लोक सुइ निर्वाचन क्षेत्रमा पराजित गरेका हुन्। हो प्रजातन्त्र पक्षधरअभियानकर्तामाथि आक्रमण गर्ने समूहलाई सघाएका कारण विवादास्पद बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।