काठमाडौं- नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता नखेल्ने भएका छन्।
सन्दीप आँखाको शल्यक्रिया गरेका कारण १३औं साग नखेल्ने भएका हुन्। उनको आज तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो। डाक्टरको सल्लाहअनुसार १५ दिनसम्मको विश्राम गर्नु पर्ने भएको उनका मिडिया कोअडिनेटर रमन सिवाकोटीले जानकारी दिए।
यता, नेपाल क्रिकेट संघ (क्यान) ले भने सन्दीपले साग नखेल्ने कुरा जानकारी नभएको बताएको छ। क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, ‘सन्दीपले नखेल्ने भन्ने कुरा क्यानलाई जानकारी आएको छैन। उनले टी–१० क्रिकेट खेलेर फर्किएपछि साग खेलकुद खेल्ने भनेका थिए। तर अहिले के कारणले नखेल्ने भनेको हो जानकारी भएन।’
यसअघि नेपाली टिमको घोषणा हुँदा सन्दीप पनि टिममा थिए।
१३औं साग यहि १५ देखि २४ गतेसम्म आयोजना हुँदैछ। पुरुष क्रिकेट खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।
पुरुष क्रिकेटमा नेपालसँगै बंगादेशको यू–२३, श्रीलंकाको यू–२३ टिम, माल्दिभ्स र भुटान रहेका छन्।
उद्घाटन खेलमा नेपालले मंसिर १७ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, नेपालले १९ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ। २० तारिखमा माल्दिभ्ससँग खेल्ने नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ तारिखमा खेल्नेछ।
राउण्ड रोविनको आधारमा हुने प्रतियोगिताको शीर्ष २ टिम फाइनलमा प्रवेश गर्नेछ। टी–२० फम्र्याटमा हुने खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।