काठमाडौं- पार्टी सभापति शेरबहादुर देउवाले शनिबार कालापानीकाबारे प्रधानमन्त्रीलाई लगाएको आरोप ठहर नभइ आशंका मात्रै भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दाबी गरेका छन्। 'सभापति ज्यूले आशंका गर्नु भएको हो, ठहर होइन्,’ सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता शर्माले भने, ‘त्यसकाे जवाफ फर्काइरहनु भन्दा सरकारले भारतसँग जवाफ मागोस्।’
शनिबार पोखरामै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतले सल्लाह गरेरै नयाँ राजनीतिक नक्सा बाहिर ल्याएको आरोप लगाएका थिए। ‘भारतले ओलीसँग सल्लाह गरेरै नक्सा छापेको हो,’ सभामा देउवाले भनेका थिए, ‘त्यसै छापेको हो र? ओलीको सहमतिविना भारतले नक्सा छाप्नै सक्दैन।’
प्रधानमन्त्री ओलीले सीमा समस्याका बारेमा छलफल गर्न बालुवाटारमा बोलाएको सर्वपक्षीय बैठकमा देउवाले भारतले अतिक्रमण गरेको भूमि फर्काउन छिटो पहल गर्न भनेको स्मरण गर्दै प्रवक्ता शर्माले यसमा कुनै पहल नै नभएको पनि बताए।
‘प्रधानमन्त्री ओलीजीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनमा शुभकामना दिन सक्नु हुन्छ तर यो विषयमा जवाफ माग्नु भएको देखिएन,’ शर्माले भने, ‘परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर किन चासो व्यक्त गरेन?'
देउवाको टिप्पणीलाई धेरैले ‘अशोभनीय’ भएको बताएका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नरायणकाजी श्रेष्ठले देउवाको आरोपको खण्डन गरेका छन्। देउवाको टिप्पणी निन्दा र भर्त्सना योग्य भएको श्रेष्ठको भनाइ छ।
‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओली माथि आरोपित गर्दै पूर्व प्रम देउवाले पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरेपनि कम हुन्छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘तात्कलीक तुच्छ स्वार्थ (चुनाव)का लागि राष्ट्रियता जस्तो संबेदनशील बिषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ।अझैँ चेतेनन्।’
सम्बन्धित समाचार
सीमा विवादमा देउवालाई बाँस्काेटाकाे जवाफ : प्रधानमन्त्रीमाथि प्रश्न उठाउनु लज्जाजनक
प्रधानमन्त्रीमाथि देउवाको गम्भीर आरोप- ओलीसँगको सल्लाहपछि नै भारतले नक्सा छाप्यो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।