काठमाडौं- डिस्को कान्डमा पुछिएका विमल घर्तिमगर, अञ्जन विष्ट र दिनेश राजवंशीलाई सागका लागि तयारीमा रहेको नेपाली टिमबाट पनि हटाइएको छ।
यु-२३ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विमल, अञ्जन र दिनेशलाई टिमबाट हटाइएको जनाकारी दिएका हुन्। उनीहरुको स्थानमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजेश परियार, प्रेजेन तामाङ र राजीव लोप्चनलाई टिममा बोलाएको छ।
कात्तिक ३० शनिबार नेपाली टिम कुवेतसँग विश्वकप छनोटको दोस्रो चरणको खेल खेल्न भुटान प्रस्थान गर्ने कार्यतालिका थियो। तर नेपाली टिमका मुख्य चार खेलाडी विमल, अञ्जन, दिनेश र सन्तोष तामाङ भने शुक्रबार राति नाइट क्लबमा रक्सी खाएको थाहा पाएपछि एन्फाले टिमबाट निकालेको थियो। उनीहरुको स्थानमा सुवास गुरुङलाई टिममा राखेर भुटान नेपाली टिम प्रस्थान गरेको थियो।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सागका लागि कात्तिक २५ गते टिम घोषणा गर्दा यी चार खेलाडीमध्ये फरवार्ड विमल, मिडफिल्डर अञ्जन र डिफेन्डर दिनेश परेका थिए। तर डिस्को कान्डका कारण उनीहरुलाई साग फुटबलबाट पनि बाहिर राखिएको हो।
स्वर्ण जित्छौ
मुख्य खेलाडीको रुपमा रहेका विमल, अञ्जन र दिनेश टिममा नहुँदा उनीहरुको अभावको महसुस नहुने मुख्य प्रशिक्षक महर्जनले बताए। उनले भने, ‘अहिले हामीले टिमबाट मात्रै हटाएका हौं। अब उनीहरुलाई के कारबाही गर्ने भन्ने कुरा एन्फाले गर्ला। उनीहरुको अभाव टिममा हुने छैन। अरु खेलाडी पनि राम्रा छन्।’
नेपाल डिफेन्डिङ च्याम्पियन पनि हो। सन् २०१६ मा भारतमा भएको १२औं साग फुटबलमा नेपालले भारतलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेको थियो। त्यसबेला विमल, अञ्जन र दिनेश मुख्य खेलाडीको रुपमा थिए।
यो १३औं सागमा पनि नेपालले निरन्तर स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ।
‘तयारी निकै राम्रो भएको छ। करिब हामीले चार महिना तयारी गरेका छौं। भारतको उपस्थिति छैन। १२औं सागमा भारतलाई हराएर स्वर्ण जितेका थियौं। यो पटक पनि भारतलाई हराएर नै स्वर्ण जित्ने लक्ष्य थियो। अब जुन टिम परे पनि पराजित गर्दै हामी स्वर्ण जित्ने छौं’, प्रशिक्षक महर्जनले नेपाल लाइभसँग भने।
नेपाली टिम
विकेश कुथु, अर्पण कार्की, दीप कार्की, अनन्त तामाङ, सुमन अर्याल, विकास खवास, मिचेन तामाङ, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, सुनिल बल, विक्रम लामा, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आम्दाङ्बे, तेज तामाङ, अभिषेक रिजाल, रेजिन सुब्बा, राजेश परियार, प्रेजेन तामाङ र राजिव लोप्चन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।