काठमाडौं- देशका विभिन्न मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै आन्दोलनरत चिकित्सा शिक्षा संघर्ष समितिले विद्यार्थी बस्ने होस्टलमा हतियार राखेर कलेजले भ्रमपूर्ण षड्यन्त्र गरेको आरोप लगाएको छ।
समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो।
'विद्यार्थीलाई न्याय दिनुको सट्टा होस्टलमा नै पेस्तोल राखेर डरलाग्दो षड्यन्त्रसहित विद्यार्थी, अभिभावक र जनताविरुद्ध मेडिकल माफियाको संरक्षणका खातिर घिनलाग्दो नाङ्गो हस्तक्षेपमा राज्य उत्रिएको छ,' समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
शनिबार मात्रै चितवन मेडिकल कलेजको होस्टल परिसरमा पेस्तोल भेटिएको थियो। पेस्तोल कसले र किन फाल्यो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यसपछि सोधपुछका लागि होस्टलका ५ सुरक्षा गार्डलाई नियन्त्रणमा लिइएको थियो।
उता बढी शुल्क फिर्ता गर्न माग गर्दै आन्दोलनरत नेसनल मेडिकल कलेजका विद्यार्थीमाथि कलेज प्रशासनले नै गुन्डा लगाएर कुटपिट गरेको छ।
उनीहरुले स्थानीय प्रशासनसमक्ष सुरक्षाको माग गरेका छन्।
देशभरका विद्यार्थीहरू कलेजले असुलेको बढी शुल्क फिर्ता गर्न माग गर्दै आन्दोलनरत छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।