काठमाडौं- नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाउ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ। रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।
नक्सा तयार गरेको विधिबारे जानकारी दिँदै अभियानका प्रा डा नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताए। उनले भने, ‘डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं‚’ नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको उनले बताए।
सीमा बचाउ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए। उनले नक्सा तयार पारिएको विधि समेत उल्लेख गरे।
नागरिक अगुवा तथा सीमा बचाउ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए। उनले भने, ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो।’ सार्वजनिक गरिएको नक्सा सुगौली सन्धी अनुसार भएको उनको दाबी थियो। भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाइ थियो ।
नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए। उनले काली नदीको मुहानबारे प्रमाणसमेत भएको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएकोमा खुशी व्यक्त गरे। उनले भने, ‘भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक छ।’
पूर्व सचिव तथा अभियानकर्ता डा. द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिए। उनले नक्सा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनुपर्नेमा जोड दिएका थिए। संयुक्तराष्ट्रसंघसम्म नक्सा पुर्याउनेबारे विचार गरिएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।