काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल सोसाइडेडलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा घरेलु टोली रियल मड्रिडले रियल सोसाइडेडलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। रियल मड्रिडको जितमा करिम बेन्जिमा, फेडरिको भाल्भर्डे र लुका मोड्रिचले गोल गरे।
यता, रियल सोसाइडेडका लागि भने डि सिल्भाले गोल गरेका थिए। खेलको दोस्रो हाफमा नै डि सिल्भाले गोल गर्दै रियल सोसाइडेडलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ३७औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई पहिलो हाफसम्म १–१ गोलको बराबरी दिलाए। खेलको ४७औं मिनेटमा भाल्भर्डेले गोल गरेपछि रियल मड्रिडले २–१ गोलको अग्रता बनायो।
७४औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियल मड्रिडलाई ३–१ गोलको जित दिलाएका हुन्। जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी बनाएको छ।
रियल मड्रिडले १३ खेलबाट २८ अंक बनाएको छ। रियल मड्रिड बार्सिलोनासँग गोलअन्तरले पछि रहेको छ। शनिबार राति नै भएका अन्य खेलमा रियल बेटिसले भ्यालेन्सियालाई २–१ गोलअन्तरले पराजित गर्दा ग्रानाडा र एथ्लेटिको मड्रिड भने १–१ गोलको बराबरीमा रोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।