डोल्पा- ठूलीभेरी नगरपालिकाको केन्द्र परिवर्तन गर्ने सरकारको पछिल्लो निर्णयमा स्थानीयवासीले खुसीयाली व्यक्त गर्दै दीपावली गरेका छन्। नगरसभाको सिफारिस अनुसार सरकारले हालको केन्द्र दुनैलाई परिवर्तन गर्दै जुफाललाई नयाँ मुकाम तोकेपछि स्थानीयले त्यसको स्वागतमा दीपावली गरेर हुन्।
बहुसंख्यक जनताको पायक पर्ने स्थानमा केन्द्र तोकिएको भन्दै जुफाल माझफालमा स्थानीयवासीले होली पर्वको अवसरमा दीपावली समेत गरे।
राज्य पुनर्संरचना गर्दा धेरै जनसंख्या र ठूलो भूगोल भएको माझफाल र जुफालमा समान ४/४ वडा हुनुपर्ने बहुसंख्यक जनताले माग रहेको थियो। ठूलीभेरी नगरपालिकामा समाहित हुन स्थानीयले असहमतिसमेत जनाएका थिए।
राज्य पुनर्संरचना आयोगले असन्तुष्टिका बीच तुलनात्मक रुपमा कम जनसंख्या रहेका दुनै गाविसमा ४ र जुफालमा ३ वटा वडा बनाएको थियो। तर धेरै जनघनत्व, भूगोल भएको माझफाल र रहलाई जम्मा २/२ वडामा विभाजन गरेको थियो।
आयोगले साविकको ४ वटा गाविस समायोजन गर्दै ठूलीभेरी नगरपालिका बनाएपछि सबैभन्दा दुर्गम र धेरै जनघनत्व भएको माझफालका जनतालाई सदरमुकाम जान पूरै एक दिन समय लाग्ने भएको थियो। त्यसपछि स्थानीयवासीले सबैको पायक पर्ने ठाउँमा नगरपालिका कार्यालय हुनुपर्ने माग गर्दै आएका थिए।
अब जुफाल केन्द्र भएपछि सबैभन्दा धेरै जनघनत्व भएका माझफाल र जुफाल र रहका जनतालाई सहज भएको छ। संघीय संरचनाको भावना अनुसार बल्ल सुनुवाइ भएको स्थानीयको भनाइ छ।
जालसाजी गर्दै रातारात कार्यालय सारेर जुफाल बनाएको भन्दै दुनैका स्थानीयले भने आरोप लगाएका छन्। नगरपालिकाका मेयर गणेश शाहीले नगरसभाको पहिलो बैठकले केन्द्र सार्ने निर्णय बहुमतबाट पारित गरेका बताए। ‘केन्द्र सार्ने निर्णयपछि अलिअलि विरोध हुनु स्वाभाविक पनि हो,’ उनले भने।
मेयर शाहीले स्थानीय सरकारको कार्यालय बहुमत जनताको पायक पर्ने ठाँउमा हुनुपर्ने भन्दै सदरमुकाममा मात्र केन्द्र राख्नुपर्ने धारणा संघीयताको भावनाविपरीत बताएको बताए। ‘बहुसंख्यक जनताको पायक पर्ने ठाउँमा केन्द्र नभएर सबै कुरा सदरमुकाममा मात्र हुनुपर्छ भन्नु संघीयताको भवनाविपरीत छ। त्यो संकुचित मानसिकताको उपज पनि हो।’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।