जनकपुर- सकल भवन कन्या माध्यमिक विद्यालय जनकपुरका छात्राहरुलाई तीन वर्षसम्म प्रयोग गर्न सकिने सेनेटरी प्याड वितरण गरिएको छ।
रोटरी क्लब बर्दिबासले उक्त विद्यालयको कक्षा ७, ८, ९ र १०मा अध्ययनरत ३ सय छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको हो। छात्राहरुलाई प्याडसँगै अन्डरवेर, साबुन र रुमाल समेत उपलब्ध गराइएको छ।
बजारमा पाइने सेनेटरी प्याड एक पटक मात्र प्रयोग गर्न पाइन्छ। तर क्लबले उपलब्ध गराएको प्याड ३ वर्षसम्म प्रयोग गर्न सकिने जनाइएको छ।
संस्थाकी अम्बिका बस्नेतले एक पटक प्याड प्रयोग गरिसकेपछि साबुनले सफासँग धोएर चर्को घाममा सुकाउन सुझाव दिइन्। उनले घाममा प्याड र अन्डरवेर सुकाउन लाज नमान्न समेत आग्रह गरिन्।
रोटरी क्लबले दिएको प्याड तीन वर्षसम्म प्रयोग गर्न सकिने जानकारी पाएपछि खुसी लागेको छात्राहरुले प्रतिकृया दिए। तीन वर्षसम्म एउटै प्याड प्रयोग गर्न पाइने भएपछि आर्थिक भार समेत घट्नेछ। उक्त प्याडले गरिब र विपन्न छात्राहरुलाई अत्याधिक फाइदा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।