काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पुरुष फुटबलतर्फ नेपाल समूह ‘ए’ मा परेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज ‘ड्र’ सार्वजनिक गरेको हो। डिफेन्डिङ च्याम्पियन नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र भुटान रहेका छन्। तुलनात्मक रुपले नेपाल सजिलो समूहमा परेको हो। त्यस्तै, समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल मंसिर १५ गते दशरथ रंगशालामा बंगलादेशसँग खेल्दै सुरुवात गर्नेछ। पुरुष फुटबलको सबै खेल दशरथ रंगशालामा हुनेछ। समूह ‘ए’ र ‘बी’ को विजेता र उपविजेता गरी चार टिम सेमिफाइनलमा पुग्ने छन्।
त्यस्तै महिला फुटबलतर्फको पनि ‘ड्र’ सार्वजनिक भएको छ। चार टिमले मात्रै भाग लिएपछि महिला फुटबललाई राउण्ड रोविनको आधारमा खेलाइने भएको छ। प्रतियोगिता साविक विजेता भारत, उपविजेता नेपालसँगै श्रीलंका र माल्दिभ्स रहेका छन्।

पोखरा रंगशालामा हुने महिला फुटबलको उद्घाटन खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। राउण्ड रोविनको शीर्ष स्थानमा रहने दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।