एजेन्सी- इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि भ्रष्टाचार गरेकाे आराेप लागेकाे छ। महान्यायाधिवक्ताले प्रधानमन्त्री नेतन्याहुमाथि घुस लिएको, जालझेल गरेको, निष्ठा भङ्ग गरेको तीनथरी अलग-अलग अभियोग लगाएका हुन्।
नेतन्याहुमाथि धनी व्यापारीले दिएको उपहार स्वीकारेको र आफ्नो पक्षमा सकारात्मक समाचार प्रवाहका निम्ति पक्षधरता लिएको आरोप छ। प्रधानमन्त्रीले ती आरोपहरूलाई कू गर्ने प्रयासको रूपमा अर्थ्याउादै गलत भावनाबाट उक्त प्रक्रिया प्रेरित रहेको आरोप लगाए।
उनले राजीनामा नदिने र कानूनी रूपमा त्यसो गर्न बाध्य नभएकोमा जोड पनि दिए। बिबिसीका अनुसार टेलिभिजन सम्बोधनमा नेतन्याहुले अधिकारीहरू सत्यको पछि नलागेर आफ्नो पछि लागेको बताएका छन्। उनले अनुसन्धानकर्ताहरूमाथि अनुसन्धान गर्न आग्रह गरेका छन्।
महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले आफूले गह्रुँगो मनले निर्णय लिएको बताए। तर, त्यसबाट इजरायलमा कुनै पनि व्यक्ति कानूनभन्दा माथि नरहेको देखाएको उनकाे टिप्पणी छ। उनले भने, 'कानुनको कार्यान्वयन छनोट होइन, वामपन्थी वा दक्षिणपन्थीको विषय होइन्। यो राजनीतिक विषय होइन्।'
महान्यायाधिवक्ताको भनाइ अप्रिल र सेप्टेम्बरमा अनिर्णित भएका चुनावपछि राजनीतिक गतिरोध कायमै रहेका बेला आएको छ। नेतन्याहुका प्रधानमन्त्री पदका प्रतिस्पर्धी बेनी गन्ट्सले बुधवार संसद्मा बहुमतसहितको गठबन्धन सरकार बनाउन आफू विफल भएको बताएका थिए।
राष्ट्रपति रूभेन रुबिभ्लिनले बिहीवार सांसदहरूलाई २१ दिनभित्र प्रधानमन्त्रीको उम्मेदवारमा सहमति जुटाउन र एक वर्षभित्र तेस्रो चुनावको सम्भावना रोक्न आग्रह गरेका थिए।
अभियोगहरू के छन्?
महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले फेब्रुअरीमा आफूले नेतन्याहुलाई मुद्दा १०००, मुद्दा २००० र मुद्दा ४००० भनिने तीनथरी अभियोग लगाउन चाहेको बताएका थिए। त्यसबारे रोकिएको अन्तिम सुनुवाइ अन्तत: गत महिना भएको थियो।
मुद्दा १०००: यो मुद्दामा नेतन्याहुमाथि जालझेल र विश्वासघात गरेको अभियोग लगाइएको छ। उनीविरुद्ध सहयोगको बदलामा धनाढ्य मित्रबाट पिङ्क शम्पेन भनिने मदिरा र धुमपान गर्ने सिगारहरूसहित महङ्गा उपहार स्वीकार गरेको आरोप छ।
नेतन्याहुले ती मित्रताको प्रतीक भएको र त्यसको बदलामा कुनै अनुचित काम नगरेको बताएका छन्। उनका साथीले पनि गलत काम गरेको कुरा अस्वीकार गरेका छन्।
मुद्दा २०००: यसअन्तर्गत पनि नेतन्याहुले जालसाजी र निष्ठा तोडेको आरोप छ। उनले आफ्नो पक्षमा समाचार प्रवाह गर्ने र बदलामा प्रतिद्वन्द्वी दैनिकलाई कमजोर पार्ने कानुनको प्रबर्द्धन गर्न एउटा प्रमुख पत्रिकाका प्रकाशकसँग सहमति गरेको अभियोग छ।
प्रकाशकमाथि घुस लिएको आरोप लगाइएको छ। प्रधानमन्त्रीले गलत काम गरेको अस्वीकार गरेका छन्। दुवैले बैठकमा भएको छलफलका विषयलाई प्रश्रय दिने उद्देश्य नराखेको र कानुन पारित नभएको बताएका छन्।
मुद्दा ४०००:यसलाई सबैभन्दा गम्भीर मुद्दाको रूपमा लिइन्छ। किनकि नेतन्याहुमाथि घुस लिएको र सँगै जालझेल र विश्वासघात गरेको अभियोग छ। नेतन्याहुले एउटा अग्रणी दूरसञ्चार कम्पनीको पक्षमा निर्णयहरूलाई बढावा दिएका थिए।
त्यसबापत उक्त कम्पनीको एउटा वेबसाइटमा नेतन्याहुको पक्षमा समाचार सम्प्रेषण गर्ने सम्झौता कम्पनीका मालिकसँग भएको थियो। प्रधानमन्त्रीले नियामक निर्णयहरूमा विज्ञहरूको भूमिका रहने कुरामा जोड दिएका छन् र त्यसको बदलामा आफूले केही नलिएको बताएका छन्। घुस लेनदनमा संलग्न भएको आरोप लागेका उक्त कम्पनीका मालिकले पनि गलत काम गरेको आरोप अस्वीकार गरेका छन्।
अप्ठेरोमा नेतन्याहु
बीबीसीका नुसार नेतन्याहुको कानुनी समस्याले पछिल्ला केही वर्ष उनको कार्यकाललाई सरकार सञ्चालनभन्दा पनि आफ्नो राजनीति बचाइ राख्नमै केन्द्रित गरिदिएको थियो। देशको राजनीतिक अस्तव्यस्तताको एउटा कारण त्यो पनि हो। नेतन्याहुले अभियोजनबाट आफूलाई उन्मुक्ति दिने नयाँ कानूनहरूको खोजी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।