जापान- जापानको सुपरमार्केट बजारको व्यापारमा अक्टोबर महिनामा कमी आएको छ। अघिल्लो बर्षको सोही महिनाको तुलनामा यस बर्षको अक्टोबरमा ४.१ प्रतिशतले कमी आएको ‘जापान चेन स्टोर्स एसोसियसन’ले बिहीबार जनाएको छ।
उक्त सङ्गठनले सुपरमार्केटको सामान विक्रीदरमा कमी आउनुमा जापानमा गत महिना आएको आँधी तथा अन्य खराब मौसम, अक्टोबरमा गरिएको उपभोक्ता कर वृद्धि जिम्मेवार भएको जनाएको छ। सुपरमार्केटहरूको सङ्गठनका अनुसार जापानका ठूला सुपरमार्केट सञ्चालक ५५ कम्पनीका १० हजार ५२२ सुपरमार्केटहरूले अक्टोबरमा कुल नौ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरेका थिए।
यद्यपि यी सुपरमार्केटमा सेप्टेम्बरमा भएको कारोबार भने मार्चपछि आशालाग्दो रूपमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ। उद्योगहरूले दिएको तथ्याङ्कमा घरायसी सामानहरूको वृद्धिदरमा अक्टोबरमा ७.२ प्रतिशतले कमी आएको थियो।
उद्योगीहरूले कारोबारमा देखिएको कमीलाई उपभोक्ता करमा गरिएको करवृद्धिलाई नै जिम्मेवार बताएका छन्। यद्यपि उपभोक्ता कर वृद्धि नगरिएका खाद्यान्नका सामग्रीको कारोबार भने १.३ प्रतिशतले कमी देखिएको तथ्याङ्कमा उल्लेख छ।
यस बर्ष जापानमा अन्य बर्षको तुलनामा यस बर्ष न्यानो मौसम रहेकोले चिसोमा प्रयोग हुने लत्ता कपडाको कारोबारमा निकै कमी आएको छ। गत बर्षको तुलनामा अक्टोबरमा लत्ता कपडाको कारोबार रकममा १५.१ प्रतिशतले कमी आएको छ।
जापानमा जाडोका लुगाहरू प्रायः अक्टोबरमा बढी विक्री हुने गर्छन्। तर अक्टोबरको कारोबार सोचेभन्दा निकै खराब देखिएको सङ्गठनको तथ्याङ्कमा छ। यद्यपि कारोबारमा देखिएको कमीलाई उपभोक्ता कर वृद्धिका साथै उनीहरूको मूल्य वृद्धिको मनोविज्ञानका कारण पनि प्रभावित पारेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।