काठमाडौं- गृहमन्त्री राम बहादुर थापा बादलले १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको क्रममा त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
बिहीबार गृहमन्त्रालयमा साग सुरक्षा कार्ययोजनाका सम्बन्धमा आयोजित बैठकमा गृहमन्त्री थापाले साग प्रतियोगिता मुलुकको प्रतिष्ठासँग जोडिएको बताउँदै कुनै कमजोरी नहुने गरि सुरक्षा योजना बनाउन निर्देशन दिएका हुन्।
गृहमन्त्री थापाले प्रतियोगितालाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिए।
बैठकमा सागका लागि तयार गरिएको सुरक्षा कार्ययोजना प्रस्तुत गरिएको थियो।
कार्ययोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी प्रतियोगिताको क्रममा परिचालनको खाका तयार पारिएको छ। खेलस्थल, खेलाडीको आवासस्थल र खेलाडीको सुरक्षालाई केन्द्रमा राखेर कार्ययोजना तयार पारिएको बताइएको छ।
बैठकमा गृहमन्त्री बादल, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बरिस्ठ अधिकारीहरु सहभागी थिए।
मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, ललितपुर, कास्की र धनुषामा १३औँ साग प्रतियोगिता सञ्चालन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।