काठमाडौं- इमर्जिङ टिम्स एसिया कप क्रिकेटको फाइनलमा उपाधिका लागि पाकिस्तान र बंगलादेश भिड्ने भएका छन्।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। पाकिस्तान भने बुधबार नै भारतलाई ३ रनले पराजित गर्दै फाइनलमा पुगेको हो।
पाकिस्तान र बंगलादेशबीचको फाइनल खेल शनिबार हुनेछ।
२२९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ३९.५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटायो। बंगलादेशका लागि सौम्या सरकारले ६१ रन बनाए, नजमुल शान्तोले ५९ रनको योगदान दिए।
अब्दुल रासोलको शतक छायामा
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२८ रन बनाएको थियो। अफगानिस्तानको पारी अब्दुल रासोलले उकासे।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले शतक प्रहार गरे। १२८ बलमा ७ चौका र ७ छक्का प्रहार गरेका उनले शतकसहित ११४ रन बनाए।
बलिङतर्फ बंगलादेशका हसन महमुद र सौम्या सरकारले समान ३–३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।