काठमाडौं– बुधबार हुन लागेको मन्त्री मण्डल पुनर्गठनमा हेरफेर गरिने मन्त्रीको नाम टुंग्याउन नेकपा सचिवालयमा बैठक चलिरहेको छ।
सचिवालय बैठक बस्नुअघि छलफलमा लिइने सम्भावित नामहरु बारे नेताहरुबीच छलफल भएको छ।
नेकपाका एक स्थायी कमिटीका सदस्यका अनुसार नयाँ मन्त्री बनाउनै पर्नेहरुको एउटा सूची बनेको छ। त्यही सूची भित्रबाट केहीले मन्त्री बन्ने अवसर पाउनेछन्। उनका अनुसार घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, पम्फा भुसाल, यज्ञराज सुनुवार, बसन्त नेम्वाङ र प्रेम आलेमगर सम्भावित मन्त्री र राज्यमन्त्रीको सूचीमा छन्।
मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापालाई बिदा दिने लगभग स्पष्ट भइसकेको छ। यीबाहेक भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, श्रम मन्त्री गोकर्ण विष्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, खानेपानी तथा सरसफाई मन्त्री बिना मगर, भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्री पद्मा अर्यालमध्ये अधिकांश पुनर्गठित मन्त्रीमण्डलमा नहुने बुझिएको छ।
पार्टी शीर्ष नेताहरुका गुट, प्रदेश र समावेशीतालाई मध्यनजर गरेर उनीहरुमध्ये केहीले निरन्तरता पाउनेछन्। प्रचण्डले गरेको १० जना हेरफेरको प्रस्तावमा नेताहरु सहमत भएमा भने माथि उल्लेखित सबैले मन्त्रीमण्डलबाट बिदा पाउनेछन्।
यो पनि पढ्नुहोस्ः
हटाइने मन्त्रीको संख्यामा अझै जुटेन सहमति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।