काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रीमण्डल परिवर्तन गर्ने मन्त्रिपरिषद् बैठकमा बताइसकेका छन्। सोहीअनुसार पुनर्गठनको कसरत तीव्र बने पनि सहमति जुटाउन भने सकस परिरहेको छ।
खासगरी, कति संख्याका मन्त्री हेरफेर गर्ने हो र त्यसमा कोको पर्ने हो भन्नेमा नेकपाका दुई अध्यक्षबीच सहमति जुट्न नसकेको निकटस्थ नेताहरुको दाबी छ।
मंगलबार बेलुकीसम्म ५ जना मन्त्री र दुईजना राज्यमन्त्री हटाएर नयाँ नियुक्त गर्ने कुरामा सहमति बनेको थियो। तर, बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८ मन्त्री र दुई राज्यमन्त्री गरी १० जना हेरफेर गर्ने प्रस्ताव प्रधानमन्त्री ओली समक्ष राखेका छन्।
प्रचण्डको नयाँ प्रस्तावमा केहीबेर दुई अध्यक्षबीच छलफल भयो। ओलीले १० भन्दा पनि ६ मन्त्री र दुई राज्य मन्त्री गरी ८ जना हेरफेर गर्ने कुरामा सहमति जनाए।
प्रचण्डले प्रस्ताव गरेका दुईटा नाममा ओलीको असहमति व्यक्त गरे।
उक्त प्रस्ताव र जोडिएका नामका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत परामर्श आवश्यक भएपछि उनीहरु राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगे।
राष्ट्रपति भण्डारीसँगको परामर्शपछि उनीहरु सहमतिमा पुगे/नपुगेका आफू निकटस्थ नेताहरुलाई बताएका छैनन्। राष्ट्रपतिसँग भएको छलफल अनुसारको प्रस्ताव नेकपा सचिवालय बैठकमा प्रस्तुत गर्ने तयारी गरेको बुझिएको छ। बालुवाटरमा सचिवलायको बैठक सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।