काठमाडाैं- गृहमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरी पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
मंगलबार गृहमन्त्रालयमा भएकाे विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्वतयारीको लागि निर्देशन दिएका हुन्।
बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुले शीतलहरको प्रभावबाट सुरक्षित राख्ने उपायहरुको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरु समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्वप्रबन्ध गर्न निर्देशन दिए।
विपद् व्यवस्थापनको क्षेत्रमा सम्बन्धित जिल्लामा रहेका गैरसरकारी संघसंस्थाहरुलाई समेत हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्वतयारीमा सहभागी गराउने गरी समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिइएको छ।
चिसो हिमपात तथा शीतलहरका कारण २०७४ सालमा ४८ जनाको मृत्यु भएको थियो। गत वर्ष सरकारले चिसो, हिमपात तथा शितलहरबाट प्रभावित हुन सक्ने नागरिकलाई इन्धन, दाउरा, कम्वल बाडेको थियो ।
कार्यकारी समितिको बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिकाअन्तर्गत हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्र र गाउँ/टोलका गरीब तथा विपन्न परिवारहरुको पहिचान गरी कार्यक्रम बनाउन आग्रह पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।